बाढीमा २३ भारतीय सैनिक बेपत्ता

बाढीमा २३ भारतीय सैनिक बेपत्ता


उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण टिस्टा नदीमा आएको शक्तिशाली बाढीमा परी २३ सैनिक बेपत्ता भएका छन् । भारतीय सेनाले जनाएअनुसार उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा भीषण वर्षा हुँदा टिस्टा नदीमा बाढी आयो र २३ सैनिक बेपत्ता भए, केही सवारी साधन डुबेका छन् भने खोजी कार्य जारी छ ।

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित छ ।

चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको टिस्टामा बाढी आएको सेनाले बताएको छ ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।