अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने

अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने


अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ ।

हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ ।

“यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन-अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ ।

सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्यापो पनि सहभागी हुनुहुनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानवअधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ ।

सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केही बेर रहने जनाएको छ ।

हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो ।

सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए ।