रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु


युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् ।

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको एएफपीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन् ।

खार्किभको उत्तरपूर्वी क्षेत्र, जहाँ हाल कूल ३३० जना जनसङ्ख्या रहेको छ, मा रहेको उक्त गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र सोही भवनको एउटा पसलमा मृतकका आफन्तहरू थिए ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भनेका छन्, ‘एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ, ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक ६ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् ।’

अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।