‘एनआरएनए’भित्रका न्युक्लियसहरू र आगामी चुनावबारे !

‘एनआरएनए’भित्रका न्युक्लियसहरू र आगामी चुनावबारे !


यस्ता चक्रब्युहहरूले हो संस्थालाई धरापमा पार्ने !

एनआरएनएको केन्द्रमा व्यक्तिगत फाइदाको लागि सँस्था प्रयोग गर्नेहरूको घेराबन्दीले स्वतन्त्र र इमान्दार उम्मेदवारहरू अभिमन्यु बन्ने खतरा देखिँदै आएको छ । राष्ट्रिय समन्वय परिषदहरूमा समेत झन्डै-झन्डै केन्द्रको जस्तै अवस्था देखिन थालेको छ । जसले संस्थामा पारदर्शिताका कुरा उठाउँछ, जसले माफियागिरीको जालो तोड्ने हुण्डी गर्नेहरूको विरुद्ध कारवाहीको कुरा उठाउँछ र जसले म्यानपावर कम्पनीमार्फत मजदुर लुट्ने कुराको विरोध गर्छ, त्यसले यो संस्थामा पदाधिकारीको चुनाव जित्ने कल्पना नगरे पनि हुने अवस्था अहिले छ ।
✍ डिल्ली अम्माई (Dilli Ram Ammai, Belgium)

विशेषतः चुनावको बेला र विधान अधिवेशनमा समेत एनआरएनए उम्मेदवार विशेषगरि एलिट उम्मेदवार र उनका ढोके–चम्केहरूबीच भित्र भिन्न स्वार्थमा फरक-फरक न्युक्लियसहरू बन्दै भत्कँदै गरेका हुन्छन् । त्यसमध्ये एउटा प्रभावशाली पूर्व अध्यक्षहरूको नियन्त्रणमा चल्ने स्थायी (permanent) चरित्रको न्युक्लियस हुन्छ । उक्त न्युक्लियसलाई विधान अधिवेशन र चुनावमा आफ्नो हितसापेक्ष ब्यक्ति जिताउन वा आफ्नो हितअनुकुलको नीति निर्माण गर्न प्रयोग गरिन्छ । त्यो अदृश्य केन्द्रलाई पी (permanent) न्युक्लियस भनेर बुझिँदोरहेछ ।

निजी स्वार्थको लागि बनाइएको ‘पी’ न्युक्लियसमा नेतृत्वको डण्डा नदेखिने गरी शक्तिशाली पूर्वअध्यक्ष वा पदाधिकारीमध्ये कसैले समातेका हुन्छन् । एनआरएनभित्र त्यस्ता केन्द्रहरू एकभन्दा बढी रहेको आँकलन गर्न सकिन्छ । उदाहरणको लागि पूर्व अध्यक्ष शेष घलेको न्युक्लियस र जीवा तथा संस्थापक उपेन्द्र महतोका न्युक्लियसलाई स्थायी रुपले विकसित हुँदै गरेका स्थायी ध्रुव (Pole)को रुपमा लिन सकिन्छ ।

त्यस्तै, अर्को ध्रुवबारे भन्नु पर्दा, चुनावमा भोटमा प्रभाव पार्ने प्रयोजनको लागि र आर्थिक वितरण प्रणालीलाई अति गोप्य राख्न क्यु (Q) क्यु क्वाइन ट्रयाप न्युक्लियस निर्माण गरिएको हुन्छ । जसको चरित्र टार्गेट लक्ष्यप्राप्तिको लागि भएकोले अस्थायी प्रकारको हुन्छ । यो अंग्रेजीको ‘क्यु’ जस्तै प्रकारले निर्माण गरिएको हुन्छ । यसमा सूचनाहरू भित्र जान सक्छन् तर बाहिर आउन प्रायः असम्भव मानिन्छ । यो ध्रुवद्वारा परिचालित अर्को लेयरमार्फत नै चुनावमा मतहरूको खरिद–बिक्री गरिन्छ । मुख्य कोष परिचालकलाई अनुमान गर्न सकिन्छ तर कसैले देख्न पाउँदैन ।

‘कुइक फण्ड ट्रयाप न्युक्लियस’ चुनावको घोषणा हुनेबित्तिकै उम्मेदवारका प्यानलहरूले निर्माण गर्दछन् । त्यसमा अति गोप्य रूपले क्षेत्रीय नेताका साथै मिडियाका मान्छे पनि छिराइएको हुन्छ । चुनावमा यिनै मिडियामा काम गर्ने संचारकर्मीहरूले आफ्नो–आफ्नो च्यानलमा पैसा पठाउछन् र समाचारको आँधी हुण्डरी चलाउँछन् । त्यसमा प्रत्येक क्षेत्रबाट एक मुख्य भारदारी एजेण्ट तोकिएको हुन्छ । उनीहरूकै ‘Q’ न्युक्लियसले चुनावी रकम कहाँ कति दिने, कसरी भोट किन्ने र मिडियालाई कति दिने भनेर तय गर्दछ । उम्मेदवारलाई कहाँ डुलाउने र को-कोसँग भेटाउने भन्ने कुराको तय समेत यही न्युक्लियसले गर्दछ । अहिलेको चुनावमा पनि हामीले त्यसको अनुभव गजबले गर्दैछौँ । हामीले एनआरएनएलाई ध्वस्त पार्ने तत्व वा कारण बाहिर-बाहिर खोज्दै हिँड्नु बेकार छ । यो संस्था डुबाउने यिनै दुई (P / Q) प्रकारका न्युक्लियस निर्माण गर्नेहरू हुन् ।

१) स्थायी ए न्युक्लियस :

पूर्व अध्यक्षहरूको इन्ट्रेष्टमा भोट हाल्ने प्रभावी समुहहरूको एनआरएनएभित्र जत्था तयार गरेर राखिएको कुरा बताइसकियो । राष्ट्रिय समन्वय परिषदका पूर्वअध्यक्ष, आइसीसीलगायतका केही पूर्व पदाधिकारीहरूलाई स्थायी रुपले प्रतिनिधि बनाइनुपर्ने अवधारणा त्यही नियतले ल्याइएको हो । तिनै पूर्व पदाधिकारीको घेराभित्र पूर्व शक्तिशाली अध्यक्षहरूका आदेशमा काम गर्नेहरूको संगठित समूह निर्माण भएको हुन्छ । एनआरएनएको निर्णायक मत उनीहरूसँगै भएको हुनाले एनआरएनएभित्रको एउटा मुख्य समस्या उसकै डिएनएभित्र अन्तरनिहित छ भन्दा आत्युक्ति नहोला ।

यो संस्थामा पूर्व शक्तिकेन्द्रहरूको चारित्रिक विशेषताअनुसार फरक-फरक न्युक्लियसहरू पनि हुने गरेका छन् । दलाल चरित्रका नेतृत्व वा अन्य पदाधिकारीहरूले संस्थाको आड लागेर कारोबार गर्दै जाँदा आफ्नै संजाल निर्माण हुन पुग्दछ । हाइड्रोपावर वा अन्य ब्यवसायीको आफ्नै इन्ट्रेष्टको संजाल हुन्छ । मानव श्रम व्यवसायी, निर्माण वा नाव तस्करको झन् गोप्य र ब्यवस्थित सर्किट हुन्छ । होटल व्यवसायीको आफ्नै संजाल हुन्छ । यो संस्थाभित्र इन्ट्रेष्टको केन्द्रीकरण र फ्युजन हुने भनेको कि चुनावको बेला हो कि विधान अधिवेशनको बेला हो । त्यति हुँदाहुँदै पनि यी सबै सर्किटको प्रभावलाई डोमिनेट गर्नसक्ने छवि मात्रै संस्थाको सर्वेसर्वा बन्न सक्ने सम्भावना अधिक रहन्छ । अन्यथा धनि ब्यक्तिलाई उम्मेदवार बनाएर पैसा असुल्ने ‘पी र क्यु’ न्युक्लियसहरूका निश्चित ब्यक्तिहरूले आफ्ना सेन्टरहरूलाई सक्रिय बनाउन थाल्दछन् ।

२) गोप्य चुनावी QUICKER न्युक्लियस :

यी चुनावमा प्रचारप्रसार समितिलाई रकमको जोहो गर्ने उद्देश्यले बनाइएका अध्यक्ष उम्मेदवारका भित्रिया न्युक्लियसहरू हुन् । चुनाव हुनेबित्तिकै यो न्युक्लियसको अस्तित्व लुप्त हुन पुग्दछ ।

चुनावमा कसलाई उम्मेदवार बनाउने ‘क्यु र केही पी न्युक्लियस’का मानिसहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन् । उनीहरूको रोजाइमा गरिब, आर्थिक रूपमा पैसा बाँड्न नसक्ने तर सँस्थागत योग्यता सम्पन्न ब्यक्ति पर्दैनन् । उनीहरूको रोजाइमा मालदार व्यवसायीहरू मात्र पर्दछन् र उसकै वरिपरि विशेषगरि ‘क्यु क्वाइन ट्रयाप’का माखाहरू भन्कीरहेका हुन्छन् । ‘पी र क्यु न्युलियस’हरू उद्देश्य र चरित्रगत रूपमा अलग रहे पनि बेला बेलामा यिनीहरूको सहकार्य भने भइरहन्छ । कहिलेकाहीँ दुवै न्युक्लियसमा एउटै ब्यक्तिहरूले काम गरेको पनि देखिन्छ ।

सबैतिरको रणनीति केन्द्रभित्र पसेर जासुसी गर्ने, अरुका रणनीतिक कुराहरू लिक गर्ने, प्रतिष्पर्धी अर्को ग्रुपलाई सूचनाहरू बेच्ने र उम्मेदवारलाई चुतिया बनाएर विभिन्न बहानामा पैसा असुल्ने प्रवृत्ति पनि त्यहीभित्र हुन्छ । अहिलेकै चुनावको क्रममा यस्ता दोहोरो-तेहेरो रोल खेल्ने र अरुका चुनावी रणनीतिहरूको गुह्य कुरा पत्ता लगाएर आफ्नो न्युक्लियसको सेवा गर्ने गुप्तचरहरू सक्रिय भएका हुन सक्छन् ।

यी सबै न्युक्लियसको रणनीतिअनुशार भएका पोल खोलाखोलका घटनाहरू यदाकदा लिक हुने गरेका पनि छन् । कहिलेकाहीँ त प्रतिष्पर्धी न्युक्लियसहरूका व्यक्तिहरूको बीच हानाहान हुन सक्ने सम्भावना पनि रहन्छ ।

‘क्यु न्युक्लियस’को कर्म र लक्ष्य :

यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ कि फरक-फरक राजनीतिका हौँ भन्नेहरू पनि गोप्य कोठाको चुनावी कोष रित्याउने महासमरमा एक ढिक्का रहन्छन् । उनीहरूको परम लक्ष्य र सत्य कुरा उम्मेदवारको बुद्धि भुट्नु र विभिन्न बिल वा खर्च देखाएर सकेसम्म उम्मेदवार लुट्नु हो ।

एनआरएनए एक पूर्व पदाधिकारीका अनुशार चुनावी आर्थिक कोषका संचालक वा उपभोक्ताहरूको काम खेलाइ-खेलाइ धनी उम्मेदवारहरूलाई आची नआइन्जेल निचोर्ने हो । जसको परिपञ्च आर्थिक न्युक्लियसका दामोदरहरूले योजनाबद्ध रुपले मिलाएका हुन्छन् । भोट किन्न, मिडिया किन्न, कार्यकर्ता परिचालन गर्न, पर्चा पम्प्लेट छपाउन र भोटरको लागि टिकट खर्चबारेको प्रमाण ‘क्यु न्युक्लियस’का मुख्य व्यक्तिबाहेक उम्मेदवारसम्म पनि लगिँदैन । यसैभित्र हुन्छ क्यु न्युक्लियसका दामोदरहरूको अझै चरम लुट र तुच्छ प्रतिस्पर्धा ।

एनआरएनएको गरिमा धुलिसात हुनुमा उम्मेदवारहरूको आफ्नो हात भन्दा पनि ‘क्यु र पी न्युक्लियस’भित्रका महावीरहरूको हात बढी हुन्छ । चुनावपछि अवैध धन्दा, मानवतस्करी तथा गोप्य कारोबार यिनै कोष संचालकहरूले गर्ने भएकोले भ्रष्टाचारका घटना बाहिर आएपनि उम्मेदवारहरूले कारवाही त के चुइँक्क बोल्न सक्दैनन् ।

नेतृत्व कौशल र एनआरएन नेतामा हुनुपर्ने गुण :

अन्तराष्ट्रिय संजालको नेतृत्वसँग पैसा बाहेक अन्य गुण जस्तो कि समुदायका पीडित मानिसहरूप्रति करुणा, न्यायिक, देशभक्ति भावनाले ओतप्रोत, पारदर्शीता र इमान्दारिताको गुण हुन जरुरी छ । तर अहिलेसम्मका अध्यक्षले इमान्दारितापूर्वक काम गर्न नसक्नुको अर्थ माथि बताइएका दुवै न्युक्लियसहरूको घेराबन्दी, मनोनित चम्चाहरूको दबदबा र चुनावी न्युक्लियसले गरेको भनिएको खर्च उठाउनुपर्ने उम्मेदवारहरूको बाध्यता नै हुन् ।

भ्रष्ट न्युक्लियसहरूले प्रवाशी नेपाली भुइँमान्छेको आवाज नेतृत्वसम्म पुग्न नै दिँदैनन् । यिनै बिचौलिया, हुक्के, चिलिमे कोर टिमका भ्रष्टहरूको कोलाहलमय वातावरणमा नै नतृत्वको दुईवर्षे कार्यकाल सकिन्छ । त्यसपछि हात्ती आयो हात्ती आयो फुस्सा !

हरेक चुनावमा पुरानै अवस्था दोहोरिनु एनआरएनहरूको दुर्भाग्य हो । पहिलेजस्तै हरेक चुनावमा न्युक्लियसहरू पूर्ण तयारी भएर बसेका हुन्छन् । सिठी बज्नासाथ अर्को ट्रयाप बनाउन थाल्दछन् । भनिन्छ, ‘स्थायी न्युक्लियस र अस्थायी क्वाइन ट्रयाप’को फन्दाले संस्थामा पसेको सद्धे मान्छे पनि कि कुरुप बनेर निस्कनु पर्छ कि एनआरएनए छोड्न बाध्य हुनुपर्छ ।

अनेक रुप रंगका असुली धन्दाहरू :

नेतृत्वलाई नाङ्गेझार पारेर लुट्ने कला अर्थात् मनि ट्रयापको कला नेपालका बिचौलिया, भ्रष्ट र दलालहरूबाट यी कथित ‘पी र क्यु पोल’मा बस्नेहरूले पहिल्यै सिकेका हुन्छन् । अझ केही बाठाहरूले त आफू उठेको ग्रुपबाट भोट क्रस गराइदिन्छु, आन्तरिक सहमति गराइदिन्छु वा नेताहरूलाई मिलाउन लगाउँछु भनेर उम्मेदवारबाट थप पैसा पनि असुल्छन् । कसै-कसैले अघिल्लो चुनावमा आँफुले उम्मेदवारी दिएको पदसँगसँगै केही भोटहरू पनि ठेक्कामा मोल बढाबढको लागि राखेको पनि देखियो । त्यो अवस्थामा उनीहरूको संकट, राजनीति, जातियता, धार्मिकता केहि बाँकी रहँदैन र केवल आर्थिक मूल्यमात्र बाँकी रहन्छ । हामीले एनआरएनएका यसअघिका चुनावहरूमा देखेको मुख्य दृश्य यस्तै थियो ।

उम्मेदवारलाई आफ्नो प्रभावका भनिएकाहरूको लिष्ट दिएर पैसा माग्नेहरू पनि देखिए । यसरी नै वर्षमा काठमाडौँमा चार वटासम्म घर किन्ने हैसियत बनाएका अभियन्ताहरू पनि अहिले केन्द्रिय पदहरूमा उम्मेदवार बनेका कुरा सुन्नमा आएका छन् । यो संस्थामा अनुशासन हात्तिको देखाउने दाँतमात्र हो भन्ने कुरा प्रमाणिक सत्य जस्तै हो भन्छन् भुक्तभोगीहरू । अहिलेसम्म मानव तस्कर, दलाल, झण्डावाल, हुण्डीवाल, चोर चौकड़ी जो पनि उम्मेदवार बन्न पाइरहेका छन् । खैर ! उनीहरूको पद असुलीको लागि पनि हुन सक्छ । तर उठ्न सदैव पाइरहेकै छन् ।

अगाडि नै भनियो कि उम्मेदवारहरूको रकम लुट्न बनेका छरिता गुलिया चक्रब्युहमा रहनेहरूले कमजोर आर्थिक अवस्थाको उम्मेदवार ससक्त भएपनि मन पराउँदैनन् । जसरी भतुवा कुकुरले दिशा बस्नेको मलद्वारबाट कति आची झऱ्यो भनेर टाढैबाट आफ्नो भोकको तीव्रतालाई सन्तुलनमा राख्दै ड्वाकेर बस्दछ र मान्छे उठ्नेबित्तिकै दिशामाथि झम्टन्छ, त्यसरी नै क्यु मनी ट्रयाप न्युक्लियसका चुनावी सपेराहरूले उम्मेदवारबाट जम्मा पारेको कोषलाई क्षणभरमै सफाचट पारि फेरि रिक्त आर्थिक कोष भरणको माग गर्दछन् । कोषमा रकम पुनः भरिएन भने क्याम्प नै परिवर्तन गरेका कति उदाहरणहरू छन् ।

‘क्यु न्युक्लियस’का कारिन्दाहरूको टार्गेट धनीलाई मुख्य नेतृत्वको लागि मनाउनु हो । धनि तथा अति महत्वाकांक्षी व्यक्तिलाई उम्मेदवार घोषणा गर्न हरतरहले प्रेरित गर्नु, दिमागी खुराकलाई पुष्ट्याइरहनु, मालिस गरिरहनु, दलाली र सँस्थाको रहल पहलबाट अलिअलि झार्नु, चुनावको बेलामा उम्मेदवारलाई सकेसम्म खुर्कनुसँग मात्र उनीहरूको सरोकार रहेको हुन्छ ।

अन्त्यमा,
यो संस्थाको समस्या संस्था बाहिरभन्दा भित्र धेरै छ । यो समस्याको समाधान भनेको संस्थागत रुपले झाङ्गिएको आर्थिक दुश्चक्रलाई फेर्नुसँग सम्बन्धित छ । त्यसैले चुनावी प्रतिस्पर्धालाई स्वच्छ बनाउन प्रतिनिधिहरू स्थानीय तहको चुनावी प्रतिष्पर्धाबाट चुनिनु पर्दछ भन्ने आवाज अहिले ब्यापक रुपले उठेको छ । प्रतिनिधि चयन गर्ने यसअगाडिका अवैज्ञानिक पद्दति पूर्ण रुपमा खारेज गरेर युएन सचिवालय अथवा अमेरिकी राष्ट्रपति चुन्ने शैली अपनाउन सके सँस्थाका नियतगत नियतिहरू समाप्त हुँदै जाने देखिन्छ । त्यो नै एलिटहरूको गोलचक्करबाट एनआरएनएलाई निकाल्ने मुख्य तरिकाहरूमध्ये एक हो । फ्रेस मतदानमा पूर्व प्रतिनिधि हुनुपर्ने जस्ता अघोषित आरक्षणको ब्यवस्था पूर्ण रुपमा खारेज गरिनु पर्छ ।

एनआरएनएको केन्द्रमा व्यक्तिगत फाइदाको लागि सँस्था प्रयोग गर्नेहरूको यस्तै घेराबन्दीले स्वतन्त्र र इमान्दार उम्मेदवारहरू अभिमन्यु बन्ने खतरा देखिँदै आएको छ । अहिले त राष्ट्रिय समन्वय परिषदहरूमा समेत झन्डै-झन्डै केन्द्रको जस्तै अवस्था देखिन थालेको छ । जसले संस्थामा पारदर्शिताका कुरा उठाउँछ, जसले माफियागिरीको जालो तोड्ने हुण्डी गर्नेहरूको विरुद्ध कारवाहीको कुरा उठाउँछ र जसले म्यानपावर कम्पनीमार्फत मजदुर लुट्ने कुराको विरोध गर्छ, त्यसले यो संस्थामा पदाधिकारीको चुनाव जित्ने कल्पना नगरे पनि हुने अवस्था अहिले छ । त्यसलाई फेर्नु अति आवश्यक छ ।

संस्थाको यो अवस्थालाई फेर्न कमसेकम अब इमान्दार मान्छेहरूले सकारात्मक हस्तक्षेप गर्नु जरुरी छ । त्यसको लागि आधिकतम मजदुरहरूको बीच बसेर मजदुरका अधिकतम समस्याहरूलाई महसूस गर्न सक्ने, अलिक बढी संवेदना भएको, अलिक बढी मानवता वा करुणा भएको मान्छे नेतृत्वमा लैजाने प्रयत्न गर्नु पर्दछ । चुनावको बेला प्रथमतः सुकिलो घेराको कलर पहिचान गर्न सक्नुपर्छ । नेपालबाहिर हामी प्रवाशीहरूको पीडालाई प्रतिनिधित्व गर्ने कलरबारे विवेकशील बहस हुनुपर्छ ।

भनिन्छ, जलिरहेको लास वा पानीमा डुब्दै गरेको बालक देखेर पनि मानिस मुस्कुराउन थाल्यो भने कि त्यो मानिसको मानसिक अवस्था खराव भएको हुन सक्छ, हैन भने त्यो सम्वेदना मरेको मानिस हो । भनाइको मतलव संस्थागत मानिस सबैप्रति बढी दयालु, सहयोगी, समभावी र करुणामय हुनुपर्छ । त्यसले नै संस्थालाई रुपान्तरण गर्न सक्छ । तर त्यसको विपरीत जीव जगतप्रति निर्दयीपना, करुणाविहीनता र मानसिक सुष्कताको मानिसले समाजको नेतृत्व गर्न सक्दैन । त्यसले भनिएको होला- असल मानिसको आचरण करुणाको भावले नापिन्छ भनेर ।

समस्याहरूलाई स्वतन्त्र रुपले विश्लेषण गर्न नसक्ने हो भने अरुद्वारा आफू पटक-पटक प्रयोग भइने खतरा रहिरहन्छ । आफ्ना कमजोरीमाथिको आलोचनालाई प्रतिशोधको रुपमा लिने उम्मेदवारले सामाजिक संघ-संस्थामा खासै काम गर्न सक्दैनन् । त्यसै कारण विवेकशील मतदाताले स्वाभिमानलाई ख्याल गर्दै उपयुक्त पात्र चुन्न सक्यौँ भने कमसेकम पूर्वअध्यक्षहरूका केन्द्र र मत खरिद गर्ने न्युक्लियसहरू कमजोर हुँदै जानेछन् । हामी नै मानिसबाट बस्तुमा रुपान्तरीत हुँदै बेचिनेमा गनिन थाल्यौँ भने यो संस्थाको भलो पशुपति र गुहेश्वरीले मात्र गर्न सक्ने छैनन् । यो पटक चेत फिरोस् ! अस्तु !!