इजरायल-गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन

इजरायल-गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल-गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताएका छन् ।

हमासले इजरायलमाथि अकस्मात व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँगको भेटमा रूसी नेताले उक्त टिप्पणी गरेका हुन् ।

पुटिनले भने, ‘धेरै मानिसहरू मसँग सहमत हुनेछन् भन्ने मलाई लाग्छ । यो मध्यपूर्वमा अमेरिकी राजनीतिको असफलताको स्पष्ट उदाहरण हो ।’

उनले स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राज्यको निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को निर्णयहरू कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

पुटिनले भनेका छन्, ‘अमेरिकाले द्वन्द्वलाई नियमन गर्ने (द्वन्द्व) मा एकाधिकार जमाउने प्रयास गरेको छ तर दुर्भाग्यवश, दुवै पक्षलाई स्वीकार्य हुने गरी सम्झौताको खोजीमा व्यस्त छैन । पश्चिमा मुलुकले प्यालेस्टिनी जनताको आधारभूत हितलाई ध्यानमा राखेको छैन ।’

एक दिनअघि रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले प्यालेस्टिनी राज्यको निर्माण इजरायलमा शान्तिका लागि ‘सबैभन्दा भरपर्दो’ समाधान भएको बताएका थिए ।

इजरायलमाथि हमासले आक्रमण गर्नुअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको मस्को भ्रमणको तयारी भइरहेको क्रेमलिनले जनाएको छ ।

मस्कोले अमेरिकाले आफ्नो सहयोगी इजरायलसँग युद्धपोत सारेपछि कुनै विदेशी खेलाडी द्वन्द्वमा प्रवेश गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।