एघार लाख गाजाबासी बाहिर निस्कन इजरायलको चेतावनी : राष्ट्र संघ भन्छ ‘परिणाम भयावह हुने देखियो’

एघार लाख गाजाबासी बाहिर निस्कन इजरायलको चेतावनी : राष्ट्र संघ भन्छ ‘परिणाम भयावह हुने देखियो’


इजरायलमाथि हमला दोहोऱ्याउने हमासको धम्की

इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । प्यालेस्टिनी समूहलाई नामेट तुल्याउन उद्यत् र अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सकिने जनाएको छ । इजरायलले ११ लाख गाजाबासीलाई २४ घन्टाभित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएको छ भने इजरायलको सो चेतावनीपछि संयुक्त राष्ट्र संघले भनेको छ, ‘परिणाम भयावह हुने देखियो, यसलाई इजरायलले रोक्नुपर्छ ।’

यसक्रममा शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभको भ्रमण गरेका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकी समर्थनको आश्वासन उनले दिएका छन् । सो क्रममा गोलीले हानिएका बालबालिका र सिपाहीहरूको टाउको काटिएको डरलाग्दा तस्बिरहरू उनलाइ देखाइएको थियो । अमेरिकाले अहिलेसम्म इजरायलमा युद्धका क्रममा कम्तीमा २२ अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

गत शनिबार युद्ध सुरु भएदेखि इजरायलमा कम्तिमा १२ सय र गाजा पट्टीमा १४ सय मानिस मारिएका छन् । इजरायली सरकारको दाबीका अनुसार यी बाहेक इजरायली क्षेत्रमा कम्तीमा १५ सय हमास लडाकुको शव पनि फेला परेको छ। इजरायली क्षेत्रबाट अपहरण गरिएका करिब १५० जनालाई हमासले बन्धक बनाएको छ ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ । प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने दाबी गरेको छ।

उता, संयुक्त राष्ट्र (यूएन)ले शुक्रबार जनाएअनुसार इजरायली सेनाले गाजामा बसोबास गर्ने करिब ११ लाख प्यालेस्टाइनीहरूलाई २४ घण्टाभित्र गाजापट्टीको दक्षिणी भागमा जान भनेको छ । संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिक भन्छन्, ‘संयुक्त राष्ट्रले यस्तो स्थानान्तरणलाई विनाशकारी र विनाशकारी नतिजाबिना हुन असम्भव ठान्छ ।’

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारमा इजरायलले संयुक्त राष्ट्रसंघलाई पनि उत्तरी गाजापट्टी छाड्न आग्रह गरेको छ । गत बिहीबार मात्रै इजरायलले छिमेकी सिरियाका दुई मुख्य एयरपोर्टहरू दमास्कस र एलेप्पोलाई पनि निशाना बनाएको थियो, जसका कारण उडानहरू रोकिएको थियो र, एयरपोर्टहरूमा काम ठप्प भयो । यसैबीच इजरायल र लेबनानको हिजबुल्लाह (इरान समर्थित) बीचको विवादित क्षेत्रमा गोलीबारी पनि भएको छ ।

शनिबारको हमासको आक्रमण यहूदीहरूको चाड सिम्चाट टोराहसँग मेल खाएको छ । १९७३ मा अरब-इजरायली युद्ध सुरु भएको दिनदेखि ५०औं वर्षउत्सव पनि थियो । हमासको सबैभन्दा विनाशकारी आक्रमण गाजा पट्टीनजिकैको एक संगीत समारोहमा भएको आक्रमण थियो, जसमा २७० जना मारिएका थिए। बिहानै भएको आक्रमणबाट उत्पन्न आतंकका कारण सयौं युवा इजरायली र विदेशी पर्यटकहरू आफ्नो ज्यान बचाउन भाग्न बाध्य भएका थिए।

इजरायलमाथि हमला दोहोऱ्याउने हमासको धम्की

यसैबीच हमासको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न आफूहरु सक्षम रहेको दाबी गरेको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, ‘हामी हाम्रो भुमी रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायलमाथिको हमलालाई दोहोऱ्याउँछौं।’

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ, अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतीक्षा गरेर बसे हुन्छ’- हमासको सैन्य बिग्रेडले भनेको छ ।