बाजुरामा दैवी बिपत्ति : तीन महिनामा पाँच जनाको मृत्यु

बाजुरामा दैवी बिपत्ति : तीन महिनामा पाँच जनाको मृत्यु

घ.वि. सम्वाददाता
0
Shares

बाजुरा – विगत तीन महिनामा बाजुरा जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा परेर पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले उक्त विवरण सार्वजनिक गर्नुभएको हो ।

सो विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो ।

यसैगरी बाढी पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो ।बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए ।

यस्तै महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा ६ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन भने सकेका छैनन् ।

स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।