गाजाको अस्पतालमा गरिएको आक्रमणको निन्दा

गाजाको अस्पतालमा गरिएको आक्रमणको निन्दा


वार्ताबाट विवादको समाधान गर्न नेपालको आग्रह

गाजाको एक अस्पतालमा गत बुधबार निर्दोष नागरिकहरुको हत्या भएकोमा स्तब्ध भएको जनाउँदै नेपाल सरकारले त्यसको निन्दा गरेको छ । साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा सरकारले जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ ।

‘हामी शान्तिमा विश्वास गर्छौं, वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।