बाइडेन-सि भेटघाटको बाटो ‘सहज’ नभएको चिनियाँ विदेशमन्त्री वाङको प्रष्टोक्ति

बाइडेन-सि भेटघाटको बाटो ‘सहज’ नभएको चिनियाँ विदेशमन्त्री वाङको प्रष्टोक्ति


वासिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज नभएको’ अभिव्यक्ति दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत भएका थिए ।

दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् । अमेरिका जाने बारेमा राष्ट्रपति सिले अहिलेसम्म पुष्टि गरेका छैनन् ।

सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भनेका छन्, ‘दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।’

सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भने, ‘सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’का भरमा छोड्न सकिँदैन ।’ सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।

दुवै मुलुक एसिया-प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौंदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।

वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताएका थिए ।