स्पेनको क्याटलोनियाका ‘पृथकतावादी नेता’लाई आममाफी दिने योजनाको विरोधमा आइतबार मड्रिडमा हजारौं व्यक्तिले स्पेनी झण्डासहित प्रदर्शन गरेका छन् ।
विभाजनकारी आममाफीको प्रश्न जुलाईमा भएको अनिर्णायक आमनिर्वाचनपछि आएको हो । निर्वाचन परिणामले कार्यवाहक समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजलाई क्याटलन पृथकतावादी पार्टीहरू ईआरसी र जेएक्सक्याटको संसदमा अर्को कार्यकालका लागि शपथ लिन समर्थनको आवश्यकता हुन्छ ।
दुई दलले सन् २०१७ मा स्पेनमा दशकौंको सबैभन्दा खराब राजनीतिक सङ्कट उत्पन्न गरेको क्याटालोनियाको स्वतन्त्रताको लागि असफल प्रयासमा आफ्नो भूमिकाको लागि कानुनी कारबाहीको सामना गरेका सयौं व्यक्तिहरूको लागि आममाफीको माग गरेका छन् ।
मध्य प्लाजा डी कोलोनमा भएको ऱ्यालीमा ‘स्पेन बिक्रीका लागि होइन’ र ‘आममाफी हुँदैन’ लगायतका नारा लगाइएको थियो ।
स्पेनलाई टुक्र्याउन चाहनेहरूसँग सान्चेजले सम्झौता गर्न चाहेकोमा आफू दुःखी भएको ३७ वर्षीय इञ्जिनियर मार्कोस कार्बोनेलले बताए ।
उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । सबै कुरा सत्तामा टिकिरहनका लागि हुँदैन ।’ आममाफीले सन् २०१७ मा मड्रिडले प्रतिबन्ध लगाएको जनमत सङ्ग्रहपछि क्याटलोनियाको स्वतन्त्रताको अल्पकालीन घोषणा गरेपछि उत्तरपूर्वी क्षेत्रको सरकारको नेतृत्व गरेका जेएक्सक्याटका नेता कार्लेस पुज्डेमोन्टलाई फाइदा पुऱ्याउन सक्ने भन्दै भीडमा धेरैले आक्रोश व्यक्त गरेका थिए ।
धेरै स्पेनीहरूले अभियोजनबाट बच्न केही समयपछि भागेका र हाल बेल्जियममा बस्ने पुज्डेमोन्टलाई राज्यको शत्रुका रूपमा मान्दछन् । एएफपीका अनुसार प्रदर्शनका सहभागीले नारा लगाउँदै भने, ‘पुज्डेमोन्टलाई जेल पठाऊ !’
पाँच वर्षअघि सत्तामा आएदेखि नै पृथकतावादी तनाव कम गर्न प्रयासरत सान्चेजले सन् २०२१ मा क्याटालोनियाका केही ‘पृथकतावादी’ शीर्ष नेताहरूलाई माफी दिनुभएको थियो ।
शनिबार समाजवादी पार्टीका शीर्ष सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा उनले आममाफीको आवश्यकताको बचाउ गर्दै सन् २०२१ को क्षमादानले क्याटलोनियाको अलगाववादसम्बन्धी द्वन्द्वलाई ‘निर्विवाद’ रूपमा निस्तेज पारेको बताएका छन् ।
उनले भनेका छन्, ‘निश्चित रूपमा द्वन्द्वलाई परास्त गर्न भविष्यमा अन्य उपायहरूको आवश्यकता पर्नेछ किनकि हामी यो घाउलाई अनिश्चितकालका लागि खुला राख्न सक्दैनौं ।’
सान्चेजले नोभेम्बर २७ भन्दा अघि हुने महत्वपूर्ण मत प्राप्त गर्न ३५० सदस्यीय संसदभित्र कम्तीमा १७६ सांसदको समर्थन प्राप्त गर्न आवश्यक छ ।
यदि उनले १७६ सांसदको समर्थन प्राप्त गर्न सकेनन् भने सम्भवतः जनवरीको मध्यतिर स्पेन स्वतः नयाँ चुनाव गर्न बाध्य हुनेछ ।
प्रतिक्रिया