गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विश्व ध्यान दिवस मनाउनका निम्ति राख्नुभएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रस्ताव संयुक्त राष्ट्र सङ्घका महासचिव एण्टेरियो गुटेरस समक्ष राख्नु भएकोमा गुटेरसले त्यसलाई अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै त्यसनिम्ति सम्पूर्ण प्रयास गरिने वचनबद्धता प्रकट गर्नुभएको थियो ।
नेपालको चारदिने भ्रमणमा आउनु भएका राष्ट्र सङ्घीय महासचिव गुटेरससङ्ग उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयको सभाकक्षमा भेटवार्ता गर्नुभएको थियो । वार्ताका क्रममा गुटेरसले हिमाली क्षेत्रको वातावरण बिनाद हुँदै गएको तर्फ चिन्ता प्रकट गर्दै आफू नेपालप्रति विश्वको ध्यानाकर्षण गर्न यहाँ आएको बताउनुभएको थियो । लुम्बिनीको भ्रमण सकेर काठमाडौ आइपुग्नुभएका महासचिव गुटेरसले बुद्धभूमिको महिमा वर्णन गर्न थालेपछि नेता श्रेष्ठले संयुक्त राष्ट्र सङ्घले विश्व ध्यान दिवस मनाउन प्रस्ताव राख्नुभएको थियो ।
गौतम बुद्धले ज्ञान प्राप्त गर्नुभएको बुद्ध पूर्णिमाको दिनलाई ध्यान दिवसका रूपमा मनाउदा बुद्धको शान्ति सन्देशप्रति संसारको ध्यान जाने र, त्यसो भएमा बुद्धप्रति उच्च सम्मान हुने श्रेष्ठको भनाइ थियो। श्रेष्ठको भनाइको उच्च सराहना गर्दै महासचिव गुटेरसले उक्त प्रस्तावलाई कार्यान्वयनमा ल्याउन पहल गरिने वचन दिनुभएको थियो ।
भेटवार्ताका क्रममा श्रेष्ठले विकशित देशहरूले उत्सर्जन गर्ने हरित ग्यासको प्रभावले नेपाल र नेपालको हिमालय क्षेत्रलाई गम्भीर असर पारेको बताउनु हुँदा गुटेरसले सहमति जनाउदै नेपालमाथी भैरहेको यस्तै अन्यायप्रति विश्वको ध्यानाकर्षण गर्नु आफ्नो भ्रमणको उद्धेश्य रहेको स्पष्ट गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्र सङ्घले हिमालय क्षेत्रको वातावरणीय स्खलनका विषयलाई गम्भीरतापूर्वक लिएको बताउदै समाधानका निम्ति विशेष पहल गरिने वचन पनि त्यस अवसरमा दिनुभएको थियो।
प्रतिक्रिया