एक किलोमिटरमा ६७२ गाडी गुड्छन्, गाडीको चापले जामैजाम

एक किलोमिटरमा ६७२ गाडी गुड्छन्, गाडीको चापले जामैजाम


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानी उपत्यकामा गाडीको जामले यात्रा गर्न सकस दिनदिनै थपिँदो छ । ट्राफिकको शब्दमा ‘पिक आवर’ भनिने समयमा गाडीको जामले चरम रुप लिन्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ देखि ६ बजेसम्म उपत्यकाका सडकमा यात्रा गर्नु भनेको सडकमै गाडीमा बसेर १ घण्टासम्म बिताउनु हो ।

उपत्यकामा जामको मुख्य कारण गाडीको संख्या अधिक हुनु नै मानिन्छ । सीमित सडकमा अधिक गाडी भएकै कारण जाम बढ्दो छ । उपत्यकामा करिव १४ लाख गाडी गुड्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोषराज पोख्रेलले बताए ।

विगतको बागमती अञ्चल र हालको बागमती प्रदेशमा १८ लाख गाडी दर्ता भएका छन् । बागमतीमा दर्ता भएका गाडीमध्ये केही उपत्यकाबाहिर र केही बाहिर दर्ता भएका उपत्यकामा पनि चल्ने गरिरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार समग्रमा यहाँ १४ लाख साना र ठूला गाडी दैनिक गुड्छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सडकको लम्बाइ २ हजार ८३ किलोमिटरमात्र छ । सडकको लम्बाइ कम हुन् र ठूलो संख्यामा गाडी चल्नाले जाम बढिरहेको हो । अहिले १ किलोमिटर सडकमा ६ सय ७२ गाडी गुडिरहेका छन् ।

ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट दशैँ तिहार र छठजस्ता पर्वमा किनमेल गर्ने केन्द्रहरुमा बढी जाम देखिन्छ । न्युरोड, कालिबाटी, पुतलीसडक, बागबजारजस्ता व्यापारिक स्थानमा जाम बढी हुनेगरेको छ ।

जामलाई न्यून गर्न सडकको क्षेत्रफल बढाउनु पहिलो विकल्प हो । सडक बिस्तारलाई प्राथमिकता दिएर काम गर्न सकेमा जाम केही कम गर्न सकिने ट्राफिक प्रहरीहरु बताउँछन् । जामबढी हुने क्षेत्रहरु थापाथली, बानेश्वर, न्यूरोड, कालिमाटी, त्रिपुरेश्वर, कोटेश्वरजस्ता स्थानमा ‘अण्डर पास’ को ब्यवस्था गर्नु पर्ने देखिन्छ । ‘संभव भएका स्थानमा आकाशेपुल र अण्डर पास निर्माण गर्न सकेमा जाम कम गर्न सकिन्छ’- प्रवक्ता एसएसपी भट्टले घटना र विचारसँग भने ।

ट्राफिकमा अहिले करिव १ हजार ७ सय जनशक्ति परिचालित छ । त्यो संख्यामध्ये केही विदामा, केही तालिममा रहँदा दैनिकजसे सडकमा खट्नेको संख्या केही कम हुन्छ । समग्रमा जनशक्ति पनि गाडीको चापको तुलनामा कम भएको देखिन्छ ।

पिकआवरमा अत्यावश्यकबाहेकका ठूला सवारीलाई सञ्चालनमा रोक लगाइएको छ । र, पनि जाम दिनदिनै बढ्दो छ ।