सीमा क्षेत्रबाट दैनिक भारत पुग्छन् लागुऔषध सेवनकर्ता

सीमा क्षेत्रबाट दैनिक भारत पुग्छन् लागुऔषध सेवनकर्ता


१ हजार ८ सय जनालाई सचेतना ज्ञान

  • घटना र विचार, काठमाडौं

देशको सीमा क्षेत्रबाट दैनिक लागूऔषध सेवन गर्न भारत जाने दुर्व्यसनी संख्या बढ्दो छ । देशमा लागुऔषध सेवनमा प्रहरीले कडाइ गर्न थालेपछि दुर्व्यसनीहरू पूर्वका विभिन्न स्थानबाट भारत जाने गरेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पूर्वका धरान, इटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगरलगायत मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोरङ जिल्लाको रानी, दरैया सीमा नाकाबाट भारतको जोगबनीतर्फ लागुऔषध सेवन गर्न गइरहेका हुन् । प्रहरीले यसरी भारत जाने ६५ जना लागुऔषध सेवनकर्तालाई भारत जान रोक लगाएको प्रवक्ता डिएसपी दाहालले बताए ।

प्रहरीले भारत जानबाट रोकिएका लागुऔषध सेवनकर्तालाई सचेतना कक्षा पनि लिएको छ । यस्तो कक्षामा प्रहरीले लागुऔषध दुरूपयोगको कारण हुने गम्भीर ब्यक्तिगत, पारिवारिक एवं सामाजिक समस्याको चर्चा गर्दै यस्तो कुलतबाट बच्न सिर्जनात्मक उपायहरू जानकारी गराएको छ ।

छलफलका क्रममा लागुऔषध प्रयोगकर्ताहरूले आगामी दिनमा लागुऔषधको दुरूपयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले संचालन गरेको अभियानमा चालु आर्थिक वर्षको ३ महिनामा १ हजार ८ सय बढीलाई सचेतना ज्ञान दिएको छ । र, लागुऔषध प्रयोगकर्ताहरुले आगामी दिनमा दुर्व्यसनमा नफस्ने प्रतिवद्धता जनाएको प्रवक्ता डिएसपी दाहालले बताए ।