नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । घटनास्थलमै ६ जना र गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा पछि मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका-२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ जाँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली-६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका-४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएको थियो ।
प्रतिक्रिया