भवनमा आगलागी हुँदा चीनमा २५ जनाको मृत्यु

भवनमा आगलागी हुँदा चीनमा २५ जनाको मृत्यु


उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुऱ्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

लुलियाङ शहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चारतले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ । उक्त टिभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि अस्पतालमा पुऱ्याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे समाचारमा खुलाइएको छैन ।

‘उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ’, सिसिटिभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ ।’