- सुरेन्द्र सुवेदी, काठमाडौं
मौसम परिवर्तन अर्थात् हिउँद लागेसँगै मौसमी ज्वरोका बिरामी बढेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दैनिक तीन सय जना ज्वरोका बिरामी आउने गरेका हुन् । चिकित्सकीय भाषामा मौसमी फ्लु भनिने सिजनल अर्थात् मौसम परिवर्तन हुँदा देखिने ज्वरो बढ्दो छ ।
अस्पतालका चिकित्सक शंकर पाण्डेका अनुसार अहिले भुस्याहा कुकुरले टोकेका करिव ६ सय जना दैनिक रेबिजविरुद्धको खोप लगाउन आउँछन् भने त्यसपछि मौसमी ज्वरोका बिरामी आउने गरेका छन् । तातो पानी पिउने, झोलिलो गेडागुडीको रस खाने र न्यानोमा बस्न सकेमा मौसमी ज्वरोबाट बच्न सकिने चिकित्सक पाण्डेको सुझाव छ ।
चिसोमा बस्ने, शरीरको हेरचाहमा लापरवाही गर्ने र खानपानमा चिसो पदार्थ प्रयोग गर्दा मौसम परिवर्तनसँगै ज्वरो आउने चिकित्सकहरू बताउँछन् ।
राजधानीमा भुस्याहा कुकुर नियन्त्रण नगर्दा दैनिकजसो कुकुरले टोकेका बिरामीको चाप पनि टेकु अस्पतालमा छ । भुस्याहा कुकुर नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले सरकार र काठमाडौं महानगरपालिकासित आग्रह गर्छन् ।
प्रतिक्रिया