श्रीमतीको हत्या गरी आत्महत्या

श्रीमतीको हत्या गरी आत्महत्या


झापाको भद्रपुर नगरपालिका-१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

भद्रपुर-१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासलेसमेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

आज बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । ‘दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्-श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ, सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, डिएस्पी रिजालले भनेका छन् ।

उनका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । प्रनाउ रिजालले भने, ‘शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछिपछि थप जानकारी आउँछ ।’

सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले जानकारी दिए । उनका अनुसार श्रीमान्-श्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरुका तीन छोराछोरी छन् ।