झापास्थित प्राकृतिक रबर उद्योगमा आगलागी

झापास्थित प्राकृतिक रबर उद्योगमा आगलागी


झापाको मेचीनगर नगरपालिका-१२ स्थित प्राकृतिक रबर उद्योगमा आगलागी हुँदा रु ३५ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुऱ्याएको थियो । आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले जनाएका छन् ।

भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो ।

झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ । रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो ।