लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान सुरु


महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज (९ मङ्सिर)बाट सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम डिसेम्बर १० सम्म १६ दिने अभियान सुरु भएको हो ।

अभियानलाई नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नारासाथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ ।

त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवर्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ ।

महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यो वर्ष महिला हिंसा अन्त्य दिवसको ४४औँ श्रृखला हो । ७ फेब्रुअरी सन् २००० मा संयुक्त राष्ट्र संघको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिकरूपमा सुरुवात गरेको हो । महिला हिंसा बाहिरमात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो भन्ने यसको प्रमुख उद्देश्य रहेको छ ।