रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष


पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।

लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आइतबार पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ ।

नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खननमा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सल्लाहकार तथा दुरहाम युनिभर्सिटीको प्रोफेसर रविन कनिङ्गमले बताए । उनका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान् गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’कै आधारमा उत्खनन् गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जानकारी दिए ।

रामग्राम स्तूप भगवान् गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननमा भेटिएको प्रमाणबाट काल निर्धारण गरिने जानकारी दिँदै अहिले भेटिएको विभिन्न प्रमाणले यहाँ कुन कालको संरचना हो, कस्तो मान्छे बस्थे लगायतको कुरा खुल्ने बताएका छन् । यस्तै पछिका दिनमा पनि यस क्षेत्रमा उत्खनन् कार्यलाई निरन्तर दिइने कुँवरले बताए ।

कुँवरले रामग्राम स्तूपलाई केन्द्रविन्दु मानेर एक हजार मिटर चारै दिसातर्फ खोज अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको बताए । रामग्राम र लुम्बिनीसँगै सम्बन्धित रहेको पण्डितपुरमा पनि ‘जियोफिजिक्स’ को काम भइहरको उनको भनाइ छ । उनका अनुसार त्यहाँ पनि केही तथ्य भेटिएको छ, जुन प्राचीनकालको शहर हुन सक्ने अनुमान गरिएको छ । यी क्षेत्रमा रहेको संरचानालाई संरक्षण गर्नका लागि स्थानीय तहलाई लुम्बिनी विकास कोषले ध्यानाकर्षण गराएको छ ।

यसैबीच, रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित नभइ रामग्रामलाई पनि गुरुयोजनाअन्तर्गत विकास गर्न आग्रह गरेका छन् । उनले भनेका छन् ,’रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्याङ्क के कति ? कसैसँग नभएकाले संवेदनशील हुने गरेछन् ।’ रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासलाई रु २० लाख रकम विनियोजन गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताए ।

file photo