मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता- ३

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता- ३


गत २००९-१० मा नेपाल राष्ट्र बैंकले निकालेको एक तथ्याङ्कअनुसार विदेशबाट लगभग सर्त्ताईस लाख सङ्ख्यामा रहेका नेपालीले आफ्ना परिवारहरूलाई २३१.७३ विलियन नेपाली रुपैयाँ पठाएका थिए र त्यो क्रम झन् बढ्दो छ । गत साल अर्थमन्त्री भरतमोहन अधिकारीले ३८४.९० विलियन नेपाली रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । नेपाल सरकारले करबापत असुल गरेको रकमले उक्त बजेटमा ६३ प्रतिशतले आफ्नो स्थान ओगटेको थियो भनिएको छ । विदेशी अनुदान १८ प्रतिशत, विदेशी ऋण ६ प्रतिशतसहित आन्तरिक स्रोतबाट उठाइएको ऋण १० प्रतिशत पनि सोहीभित्र परेको भनिएको सो बजेटमा रेमिट्यान्सको भाग कति थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अहिलेको परिवेशमा कैयन विदेशी मुलुकमा श्रमशक्तिको रूपमा आफ्ना नागरिक उपलब्ध गराउने मुलुकमध्ये नेपाल मुख्य देशको लहरमा पर्न आएको छ । तब पनि नेपालमा सो विषयमा सही र प्रभावकारी नीतिको तर्जुमा गरिएको छैन । दूतावासको अभावमा अनि सशक्त नियमको अभावमा लाखौँ नेपाली विदेशीभूमिमा शोषित भइरहेको अवस्था एकातिर छ भने इन्टेलेक्च्युअल प्रपर्टर्ीीानेर अवसर प्रदान गरिनुपर्ने ल्याकतमा रहेका अन्य हजारौँ-हजार विदेशी भूमिमा हराउन पुगेका छन् । त्यसले नेपालको समूल विकासमा कत्तिको नोक्सानी गरेको छ भनेर गम्भीरताका साथ खोजबिन पनि गरिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइने नेपाली श्रमहरूको सही व्यवस्थापन हुनुपर्ने र त्यसलाई आधिकारिक रूपमा सरकारीस्तरबाट अवलोकन गर्नुपर्ने आवश्यकतालाई आफ्नो सरकारले गम्भीरताका साथ लिएको बताए तापनि आजसम्म सोसम्बन्धी कुनै ठोस कदम चालिएको छैन । कुनै पनि होनहार नेपालीको मुलुकबाट हुने पलायनतालाई सङ्ख्याको हिसाबबाट हेरिनुहुँदैन । त्यसले र त्यसको लहरले कालान्तरमा पर्ने राष्ट्रिय नोक्सानीको महत्त्वउपर सरकार सम्वेदनशील हुनुपर्छ । राघवजस्ता योग्य व्यक्तित्वको पलायन सङ्क्रामक हालतमा रहेको मुलुकबाट हुँदै जाने हो भने, ६०१ जनाजस्ता बाहुबल या यस्तैयस्तै अनेक तिकडम जालझेल र कुटिलताका आधारमा सदनमा भित्रिएका नीतिनिर्माताहरूबाट बन्ने नीतिनियमहरूले देशको भविष्य कस्तो देखिएला भनेर आरामैसँग कल्पना गर्न सकिन्छ । त्यही ६०१ जनाको लहरबाट उठेर मन्त्रीसम्म बनाइएका व्यक्तिबाट आठ सयवटा जिल्लाको परिकल्पना गरिनु पनि उही ६०१ उब्जनीको आधार हो भन्न सकिन्छ ।

अवसर र आधारको खोजीमा यो कालमा नभौंतारिनेहरू कमै होलान् र त्यही जस्तै केही कट्टर देखिने गरी यूके भित्रिएका राघवलाई वर्तमान बेलायती अवस्था र प्रेमपूर्ण उनको दाम्पत्य जीवनले अनौठोसँग विमुढ बनाएको हो, राघव स्वीकार्दछन् । कागजपत्रहरूलाई एकत्रित गर्दागर्दै अनि सोही गतिमा विभिन्न स्थानहरूमा विभिन्न रूप र हालतको काम खोज्दाखोज्दै मार्था गर्भवती बनेकी थिइन् । अब, यहाँ काम खोज्दै गरेको अवस्था र मार्था गर्भवती हुन पुगेकी अवस्थालाई एकाकार गराउन खोजिएको नभई सान्दरि्भक यसरी बनाइएको हो कि त्यो अवस्थाको सुरुवात काम खोज्नुजस्तै गरी आततायी राघवलाई लागेको हो । विदेशीहरू सांसारिकतामा तिनको वैवाहिक जीवनलाई क्षणभङ्गुर सम्झने नन्दिताको भरोसाको आधार अनायासै खस्केको त्यो यस्तो दिन थियो जसबारे राघवले आजपर्यन्त सूचित गर्न सकेका छैनन् । सांसारिकतालाई एक-अर्कासँग पारस्परिक बनाउन सक्षम एक छोरीको रूपमा भर्खरै मार्थाको कोखबाट जन्मेपछि वास्तवमा भन्ने भए आफू अब भने योजनाविहीन भएको राघव बताउँछन् भने नन्दितासँग एक पूरा जीवनको जस्तो सम्पूर्ण योजना छन् । बितेका दशकभित्र दाम्पत्य सुखको नाममा आफूले गुमाएका समयको भर्ताल गर्ने सोचका साथमा बितेका वर्षहरूलाई नरमाइलो सपनाजसरी भुलाउन सकिने योजना बुन्दै हतारिएर समय गुजार्दै गरेकी नन्दितालाई योजनाविहीन बन्दै गएका राघवको मानसिकताबारे केही पत्तै छैन । विछोडिएका सुरुका वर्षहरूमा जुन अनुपात र अनुरागका साथ साटिएका वार्तालापहरू थिए, त्यो अहिले दुवैले नै भुल्दै गरेको दुवैलाई लाग्न थालेको छ भने, अनौठोसँग मार्थाको संस्कृतिलगायत चालचलनहरूभित्र नचाहँदानचाहँदै एकाकार हुँदै जानु आफ्नो बाध्यता मात्र नभई अब अहिले समर्पण बढ्दै गएको राघव बताउँछन् । धर्म व्यक्तिभित्रको सत्यको प्रदर्शनी हो र त्यो सत्य कहिल्यै सङ्कीर्ण नहुने विश्वास दिनप्रतिदिन प्रबल हुँदै जानु र क्रिश्चियन धर्मभित्रका चलनहरूले मन लोभ्याउँदै जानु पनि उनी आफ्नो मार्था र सानी बच्चीप्रतिको समर्पण भन्न रुचाउँछन् । तर त्यही सत्यको प्रदर्शन भने अझै दुवैतिर अनि आफैसँग पनि गर्न सामर्थ्य जुटाउन सकेका छैनन् । नन्दिता र करिश्माबारे न त उनी अहिले सविस्तारसँग मार्थालाई भन्न सकेका छन् न मार्था र सानी छोरीबारे सम्बन्धलाई नन्दितासँग नै खुलाउन सकेका छन् । गीतामा लेखिएको ‘जे भइरहेको छ ठीक भइरहेको छ र जे हुनेछ त्यो पनि ठीकै हुनेछ’ भन्ने उक्तिलाई सत्य होस् भन्ने कामना हरेक दिन गर्न भने भुलेका छैनन् राघवले । कफीको तीतो स्वादलाई क्याम्डेन रोडको चहलपहल अनि हतारतिर मिल्काउँदै मुक्त हुन खोजेसरी आङ तन्काउँदै भन्छन्, ‘हतारमा जीवनलाई ढुक्कसँग बुझ्नै सकिएनछ विगतमा भन्ने अहिलेको मेरो स्थिरताले सुझाएको छ ।’

आफ्नो र जेठी श्रीमतीको नाम गोप्य राखेर भए पनि आफ्नो हालतको असमञ्जस परिस्थितिलाई सार्वजनिक गर्नका लागि उक्साएका राघवकै आकाङ्क्षाअनुसार नन्दितालाई पनि राघवको वर्तमान हालातमा खुलासा गर्न सकिएन, तर उनको भविष्यको योजनाबारे सुन्दा मन त्यसै अमिलो भएर आएको छ । आफू पढेर डाक्टर हुने लक्ष्य राखेकी करिश्मा दु:ख-अप्ठ्यारो जे-जस्तो भए पनि आफू भने श्रीमान्बाट एक्लिएर नबस्ने आफ्नी आमाको अगाडि खुल्लै भन्छिन् । उता सो भनाइले नन्दिताले के र कस्तो प्रतिक्रिया जनाइन् थाहा छैन, तर प्रत्यक्षत: भनिन्, ‘असमयमा मेरी छोरी प्रौढ बने पनि जीवनमा आइपर्ने हजारौँ अरुचिकर हालतबारे केही थाहा छैन । यसलाई जीवनमा सम्झौता कति गर्नुपर्छ भन्ने केही अनुमान नै छैन । के गर्नु, हाम्रो पालामा नेपाल नै यस्तै भइहाल्यो, यिनीहरूको पालामा यिनले भोग्ने नेपालमा एकप्रकारले स्थायित्व आओस्, त्यही कामना गर्दै छु ।’ राघव आफ्नो हालत र बाध्यता अनि यथार्थको खुलेरै भन्न केही सक्दैनन् । समाजले व्याख्या गरेर उचित अनि अनुचित भनाइएको अवस्थाहरूलाई सोही अर्थमा उनी बुझ्न चाहन्नन्, सायद यो क्षेत्रीको विवशता हुनसक्छ यो उनी साधारणतया बुझपचाउन खोज्दै छन् जिम्मेदारीको, तर खुल्न नचाहँदा पनि उनको हालतलाई सजिलै अनुमान गर्न सकिन्छ । धेरबेरै चुप बसेपछि उनी बोल्दछन्, ‘लामो समयको ग्यापको प्रभाव हुनसक्छ, त्यत्ति साह्रो पोल्दैन अचेल घरको सम्झनाले, किनकि, अमेरिकामा आफूले दु:ख गरेरै भए पनि नेपालमा परिवारको सुखको राम्रै जोहो गरिदिएकै हुँ, यत्ति हो कि सोचेजसरी योजनाहरू सफल भएनन् र बाँकी थाँती रहेका समयलाई कसरी जोडूँ, त्यो सोचले भने बाराम्बार जलाउँछ । पहिला नेपाल र्फकन र फर्केर फेरि उता जान मिल्ने व्यवस्थाको अभावमा दिनप्रतिदिन नेपाल फर्केको सपना देख्नेले अहिले नेपाल र्फकन र फेरि त्यताबाट यता र्फकन मिल्ने कानुनी अवस्थाले व्यवस्थित भइसक्दा पनि नेपाल यही हालातमा फर्किहाल्न सक्ने आँट जुगाड गर्न सकेको छैन । त्यसैले नै आफूलाई परिस्थितिको भरमा छाडिदिएको छु, अब त्यसले जता लान्छ त्यतै बहँदै गर्छु ।'(समाप्त)