आफैं बटन थिच्दै बाटो काट्दै पैदलयात्रु

आफैं बटन थिच्दै बाटो काट्दै पैदलयात्रु


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीको बबरमहलमा पैदल यात्रुहरूले आफैं बटन थिचेर बाटो काट्न थालेका छन् । पैदल यात्रुले बटन दबाएर ट्राफिक लाइट बाल्ने र गाडी रोखिएपछि बाटो काट्ने प्रविधि जडान भएपछि बाटो काट्न सहज भएको हो । यो प्रविधिलाई ‘पेलिकन क्रसिङ’ भनिन्छ ।

यो बटन थिचेको ५ सेकण्डमा हरियो बत्ति बल्छ । अनि ३० सेकेण्डसम्ममा बाटो काटिसक्नु पर्छ । बबरमहलको जिल्ला अदालतअघि यो प्रविधि जडान गरिएको हो ।

‘१० लाख रुपैयाँ खर्चिएर जडान गरिएको पेलिकन क्रसिङ दीर्घकालका लागि भने होइन’- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोशराज पोख्रेलले भने ।

यहाँ जेब्राक्रस गराउन दायाँ र बायाँ ट्राफिक प्रहरी खटिएका छन् । सुरुमा पैदल यात्रुलाई यो प्रविधिको ज्ञान नहुने भएकोले उनीहरूलाई खटिएका ट्राफिकले सहयोग गरिरहेका छन् । यो प्रविधि चलाउन नजान्दा दुर्घटना पनि हुनसक्ने भन्दै पैदल यात्रुलाई ट्राफिक प्रहरीले सचेतना पनि दिइरहेका छन् ।

यो स्थानमा अदालत र नजिकै सडक विभागसमेतका सरकारी कार्यालय भएकोले पैदल यात्रुको बढी चाप हुन्छ । यहाँ आकासेपुल निर्माणको सम्भावना कम छ । यो स्थानमा अण्डर पास बनाउनुपर्ने ट्राफिक प्रहरीहरु बताउँछन् ।