सङ्क्रमण नभएपनि बुस्टर डोजका लागि ल्याइयो साढे तीन लाखभन्दा बढी खोप

सङ्क्रमण नभएपनि बुस्टर डोजका लागि ल्याइयो साढे तीन लाखभन्दा बढी खोप


यतिबेला मुलुकमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छैन, तर सङ्क्रमणविरुद्धको लाखौँ खोप नेपाल आएको छ । कोरोना सङ्क्रमण नभए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएको भन्दै थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको छ । खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको र पछिल्लो खेप आएका ती खोपलाई प्रदेशमा पठाइने बताइएको छ ।

ज्ञातव्य छ, सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ भने नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको सरकारी तथ्यांक छ ।