सियरा लियोनमा सशस्त्र झडप हुँदा तेह्र सैनिकको मृत्यु

सियरा लियोनमा सशस्त्र झडप हुँदा तेह्र सैनिकको मृत्यु


सियरा लियोनको राजधानी फ्रिटाउनमा आइतबार भएको झडपमा सरकारप्रति वफादार सेनाको पङ्क्तिमा रहेका १३ जनाको मृत्यु भएको त्यहाँका सेनाका प्रवक्ताले सोमबार बताएका छन् ।

राष्ट्रपति जुलियस माडा बायोले आक्रमणपछि स्थानीय समयअनुसार आइतबार राति राष्ट्रका नाममा गरेको सम्बोधनमा सशस्त्र व्यक्तिहरूले विल्बरफोर्समा रहेको सैन्य ब्यारेक, ‘पाडेम्बा रोड करेक्सनल सेन्टर’लगायत अन्य स्थानहरूमा पनि आक्रमण गरेको बताएका छन् । आक्रमणको सेनाले सशस्त्र प्रतिकार गरेको छ र आक्रमणकारी जत्थालाई पछि हटाएर शान्ति बहाली गरिएको राष्ट्रपतिको भनाइ छ ।

सेनाका प्रवक्ता कर्नेल इसा बङ्गुराले झडपमा मारिएका सैनिक अधिकारीको सङ्ख्या पुष्टि गर्दै भनेका छन्, “हामीले हिंसात्मक आक्रमणमा संलग्न सबै व्यक्तिहरूको खोजी सुरु गरेका छौं, जसमा वर्तमान र सेवानिवृत्त सेवारत सैनिकहरू पनि छन् ।”

यसैबीच, सियरा लियोनको सरकारले कर्फ्यूसमयलाई परिमार्जन गर्दै हिंसा कम हुँदै जाँदा शान्त रहन सर्वसाधारणसँग आग्रह गरेको छ ।

सियरा लियोनको राजधानी फ्रिटाउनमा रहेको प्रमुख सैन्य ब्यारेकमा सुरक्षा फौजले गरेको सशस्त्र आक्रमणलाई सुरक्षा बलले प्रतिकार गरेपछि सियरा लियोन सरकारले थप निषेधाज्ञा जारी गर्दै नागरिकहरूलाई शान्त रहन आह्वान गरेको हो ।

सूचना तथा नागरिक शिक्षा मन्त्रालयले आइतबार अबेर एक विज्ञप्ति जारी गरी यसअघिको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ र स्थानीय समयअनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको एएफपीले जनाएको छ ।

राष्ट्रपति जुलियस माडा बायोले आइतबार अबेर राष्ट्रका नाममा गरेको सम्बोधनमा सशस्त्र व्यक्तिहरूले विल्बरफोर्समा रहेको सैन्य ब्यारेकमा मात्र नभइ ‘पाडेम्बा रोड करेक्सनल सेन्टर’लगायत अन्य स्थानहरूमा पनि आक्रमण गरेको बताएका छन् ।

आक्रमणको सेनाले सशस्त्र प्रतिकार गरेको छ र आक्रमणकारी जत्थालाई पछि हटाइएको र शान्ति बहाली गरिएको राष्ट्रपतिले बताएका छन् ।