‘म फकिर भइसकेँ, तारा र मबीच विवाहको सहमति भएको होइन’ : पूर्वएआइजी चन्द

‘म फकिर भइसकेँ, तारा र मबीच विवाहको सहमति भएको होइन’ : पूर्वएआइजी चन्द


नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दले चर्चित सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको प्रष्टिकरण दिएका छन् । अभियन्ता बरालसँग आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीका-टिप्पणी र आलोचनाबारे आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।

पूर्व एआइजी चन्दले आफू र बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्धबाहेक अन्य नाजायज र अनैतिक सम्बन्ध नरहेको बताए । सामाजिक सञ्जाल र विभिन्न मिडियाबाट तारा बरालसँग नभएको सम्बन्ध पनि छजस्तो गरी आएको समाचार र भइरहेका टीका टिप्पणीले पारिवारिक विचलन ल्याउने काम गरेको भन्दै उनले त्यसो नगरिदिन आग्रह गरे ।

बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनको भनाइ छ । तारा बरालले आफूसँग विभिन्न रेकर्ड छ, भनेर भ्रम फैलाउने काम गरेको उनको भनाई छ । भ्रम फैलाएर हनी-ट्रयापमा पार्न खोजेको पनि हुनस क्ने उनले आशंका व्यक्त गरे ।

आफू फकिरजस्तै भएको दाबी गर्दै उनले आफ्नो काठमाडौंमा कुनै घर, जग्गा, सम्पत्ति नरहेको बताए । तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै काम बारे भ्रममा नपर्न आग्रह गरे ।