गाँजा फाँड्दै प्रहरी, वैधताको माग गर्दै सांसद

गाँजा फाँड्दै प्रहरी, वैधताको माग गर्दै सांसद


  • सुरेन्द्र सुवेदी, काठमाडौं

केहीअघि मकवानपुरमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भयो । कैलास गाउँपालिकामा ५ सय ११ किलो ९ सय ग्राम गाँजा बरामद गर्न प्रहरी सफल भएको थियो ।

डिजेल र प्रेट्रोल बोक्ने ट्याङकरदेखि एम्बुलेन्ससम्ममा राखेर गाँजा ओसारपसार गरेका समाचार आइरहन्छन् । यस्ता समाचारबीच एक दिनअघि पर्सा प्रहरीले १० कठ्ठा जमिनमा लगाएको गाँजा खेती फडानी गरेको छ । पर्साको ठोरी गाउँपालिका-३ र ४ मा लगाएको गाँजा लठ्ठी र भाँटाले हिर्काउँदै प्रहरीले फँडानी गऱ्यो । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार करिव ८ हजार गाँजाका बोट र बिरुवा नष्ट गरिए ।

गाँजा फाँड्न आउने पत्तो पाएपछि खेती गर्ने किसानहरू भूमिगत भए । प्रहरी गाँजा फाँडेर मुकाम फर्कियो । प्रहरीले खेती फँडानी गर्दै ओसारपसारमा कडाइ गरिरहेको समयमा हाम्रा केही सांसद भने गाँजालाई वैधता दिन लबिङमा छन् ।

विश्व बजारमा ग्रिन गोल्ड अर्थात् ‘हरियो सुन’का नामले चिनिने गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन संशोधन गरेर मात्र पुग्दैन । अन्तर्राष्ट्रिय अभिसन्धिलाई पनि मिलाउनुपर्ने हुन्छ ।

केही समयदेखि अभियानकै रूपमा गाँजाखेतीलाई वैधानिक बनाउनुपर्ने माग उठ्दै आएको पाइन्छ । कानुन बाधक बनेक कारण मूल गेट अर्थात् कानुनमै व्यवस्था नगरी गाँजा खुला रूपमा खेती गर्न र व्यापारदेखि सेवन गर्न पनि पाइन्न

अघिल्लो संसदमा गाँजालाई खुला गर्न विधेयक दर्ता नै भयो । यसको औषधीय गुण र आर्थिक सम्भावना औंल्याउँदै विधेयक दर्ता भएको थियो । त्यसपछि यसलाई वैध बनाउनु हुने या नहुने बहस चलिरहेको छ । गाँजालाई खुला गर्न नेकपा एमालेका सांसद विरोध खतिवडाले संंसदमा पहिलो पटक माग राखे । सरकारले बजेटमा गाँजाको विषय उठान गरेपछि निक्कै सांसदले ताली पड्काएर समर्थन गरे । यसलाई वैध बनाउने या नबनाउने सरकारको पोल्टामा परेपनि नेपालका अधिकांश युवा गाँजालाई लागू औषधको मापनमा राख्न नहुने बताउँदै आएका छन् । यसलाई सूर्ती, चुरोट, खैनी र मध्यपानको मार्कामा राख्नु पर्ने अधिकांशको माग छ ।

नेपालको गाँजा उच्चकोटीको मानिन्छ । पहाडी भू-भाग र हावापानी तथा गाँजा खेतीका लागि उचित मौसमले गर्दा यसको गुणस्तर राम्रो भएको गाँजाको ओसारपसार र किनबेचमा संलग्न भएर पक्राउ परेकाहरुको अनुभवका आधारमा लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत एक अनुभवी प्रहरी अधिकृतले घटना र विचारलाई बताए । ‘गाँजाका पारखीदेखि व्यापारीसम्म पाएसम्म नेपालकै गाँजा प्रयोग र किनबेच गर्न रुचाउने गरिएको पाइन्छ’- ती प्रहरी अधिकृतको भनाइ छ ।