सर्लाहीका सिडिओ र एसपी मिटरव्याजीको बचाउमा सक्रिय

सर्लाहीका सिडिओ र एसपी मिटरव्याजीको बचाउमा सक्रिय


सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा रहेका सर्लाही बरथवाका नामुद मिटरव्याजी रामबाबु यादवलाई जिल्लाका प्रशासन र प्रहरी प्रमुखले नै संरक्षण दिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोमल धमला र प्रहरी उपरीक्षक प्रविन धितालले संरक्षण गरेको सम्बद्ध क्षेत्रमा चर्चा छ ।

प्राप्त समाचारअनुसार मिटरव्याजी यादवलाई पक्राउ गरेर बुझाउनका लागि सम्पत्ति शुद्धीकरणले चारवटा पत्र लेख्दा समेत बेवास्ता गरिएको छ । सर्लाहीमा शानसँग गाडीमा निस्फिक्रीसँग हुइँकिने यादवबाट प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले राम्रै ‘उपहार’ पाएको यादव निकटका मानिसहरू नै बताउँछन् ।

सम्पत्ति शुद्धीकरण, केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरव्याजी यादवका विरूद्ध पीडितले एकसय भन्दा बढी उजुरी दिएका छन् । यादवको विरूद्ध पाँच अर्बभन्दा माथिको मुद्दा परेको छ । शुद्धीकरणले छानवीनका लागि पक्राउ गर्न गरेको पत्राचारलाई प्रशासकले लागू नगरेर संरक्षण दिनुलाई रहस्यमय मानिएको छ ।

स्मरण रहोस्, मिटरव्याजी यादवले केही समयअघि कुलेश्वर काठमाडौंमा आठ करोड मुल्यमा भव्य घर खरिद गरेका छन् । घरको दुइतर्फ गेट छ भने गेट रिमोटले मात्रै खुल्ने समाचार स्रोतको दाबी छ।