राष्ट्रिय सभामा रिक्त हुने १९ जना सदस्यको निर्वाचन मिति घोषणासँगै निर्वाचन तालिका पनि सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने निर्वाचनको कार्यतालिका शुक्रबार प्रकाशित गरेको हो ।
आयोगका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने, २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गरिने छ । त्यसपछि पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।
कार्यतालिकाअनुसार आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया