गति लियो द्रुत बस सेवाले

गति लियो द्रुत बस सेवाले


  • सुरेन्द्र सुवेदी, काठमाडौं

दशैं, तिहार, नेवारी नयाँ वर्ष र छठमा सीमित गतिमा गुडेका द्रुत सेवाका बस अब भने नियमित भएका छन् । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म करिव १३ किलोमिटर खण्ड सडकमा गुड्ने द्रुत सेवाका बस अहिले ३६ वटा छन् । हिन्दुहरूको मुख्य चाडपर्वका समयमा भने दैनिक ३/४ वटामात्र गुडेका थिए ।

पर्वको समयमा यात्रु नहुने, राजधानीबाट घर फर्कनेका लागि बसको संख्या अपुग भएर सेवाकै बसलाई लामो दूरीमा पठाउनु परेकाजस्ता कारण पर्वको समयमा सीमित बसमात्र चलेको ट्राफिक प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले घटना र विचारलाई बताए ।

द्रुत सेवाका बस बिहान साढे ८ बजे सूर्यविनायकबाट छुट्छन् भने साढे १० बजेसम्म चल्छन् । दिउँसो साढे ३ देखि सुरु भएर साढे ५ सम्म चल्ने गरेका छन् । द्रुत सेवा सुरुको मुख्य उद्देश्य कर्मचारीहरूलाई समयमै कार्यालय पुग्न सहजता होस् भन्ने हो । सामान्य बसमा चढ्दा सूर्यविनायकबाट काठमाडौं आइपुग्न २ घण्टाको समय लाग्छ । द्रुत सेवाका बसलाई कुनै जाममा रोकिनु नपर्ने ट्राफिकले पहिलो प्राथमिकता दिने र अलग्गै लाइनको व्यवस्था भएकोले भक्तपुरबाट काठमाडौं आउन ३५ देखि ४५ मिनेट लाग्ने गरेको छ ।

यी बस गुड्ने लाइनमा रातो इनामेल पोतिएको छ । यही लाइनबाट बसहरू गुड्छन् । ट्राफिक प्रहरीले यस्ता बसको ‘टाइम कार्ड’ पनि लागू गरेको प्रवक्ता एसएसपी भट्टले जानकारी दिए । बसको ‘इन्ट्री’ समय ट्राफिकले रेकर्ड राख्छ ।

‘द्रुत सेवाका बस ३५ मिनेटदेखि ढिलोमा १ घण्टाभित्र सूर्यविनायकदेखि रत्नपार्क आइपुग्छन्’- प्रवक्ता भट्ट भन्छन्, ‘कुनै-कुनैमा गति सीमित, बढी यात्रु र गाडीको तान कमजोरजस्ता कारण ढिलो पनि आइपुग्ने गरेका छन् । एक बसले एक सिफ्टमा दुई ट्रिपसम्म यात्रुहरू बोक्ने गरेका छन् । द्रुतमा गुड्ने बसहरू बिहान र दिउँसोको २/२ घण्टा गुडेपछि भने सामान्य अवस्थामै यात्रुहरू ओसारपसार गर्छन् ।’

द्रुत बस सञ्चालनको सबै व्यवस्थापन यातायात व्यवस्था विभागले गर्दै आएको छ ।