चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।
इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।
इटालियन सरकारी स्रोतले भनेको छ, रोमले राजनीतिक संवादका च्यानलहरू खुला राख्ने तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ । एएफपीका अनुसार गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताएकी थिइन् ।
आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भनेका थिए, ‘सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।’
इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो । तर रोमले बेइजिङलाई उक्साउने र इटालियाली कम्पनीहरूविरुद्ध प्रतिशोधको जोखिम मोल्न सचेत रहँदै आएको छ ।
मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएकी थिइन् ।
प्रतिक्रिया