दुल्लु विद्रोह !

दुल्लु विद्रोह !


दैलेख जिल्लाको दुर्गम ग्रामीण भेगमा बस्ने दुल्लुवासी सर्वसाधारणले माओवादीद्वारा गरेको साँस्कृतिक अतिक्रमण विरुद्धमा विद्रोह गरेको थियो, तर शहरवासी पढेलेखेका बुद्धिजीवी बस्ने भनेर चिनिने काठमाडौं शहरमा राज्यको जिम्मेवार ठाउँमा बस्ने एक जना मन्त्रीले हिन्दुविरुद्धमा ठाडो भाषामा चुनौती दिएर बोल्दा आज सडक सुनसान छ !
✍ मोहन लामा रुम्बा

अमेरिकाको एउटा गैरसरकारी संस्था युएसएआईडीले सन् २००३ मा माओवादी छापामार युद्ध भैरहेको बेला माओवादी आन्दोलनको विस्तृत रूपमा अनुसन्धान गरेर एउटा गोप्य प्रतिवेदन अमेरिकी सरकारलाई पठाएको थियो । उक्त रिपोर्टमा तीन वटा कारण उल्लेख गरेको थियो, तीमध्ये एउटा कारण क्रिश्चियन विद्रोहसँग जोडिएको कुरा पनि उल्लेख गरेको थियो ।

२०२५ सालतिर पूर्वी रुकुमको तकसेरा भन्ने स्थानमा इसाईलाई नियन्त्रण गर्न प्रहरीले धरपकड गर्दा विद्रोह गरेको थियो र, उक्त बिद्रोहमा क्रिश्चियनको नेतृत्व गर्ने व्यक्ति हाल माओवादीको माथिल्लो पोस्टमा बसेर काम गरिरहेको छ भनेर सूचना अमेरिकी सरकारलाई दिएको थियो ।

संसद्वादी पार्टीहरूलाई तह लगाउने भनेर माओवादी जन्माउने र प्रोत्साहन संरक्षण गर्ने काम सुरुवाती कालमा राजदरबारभित्रबाट नै प्रत्यक्ष-अप्रत्यक्ष रूपमा भएको थियो । राजा वीरेन्द्र र उनका निकटतम् सल्लाहकारहरू को-को यसमा संलग्न थिए- त्यसको इतिहासमा खोट लागेको पाप्रा उप्किन बाँकी नै छ, तर ०५२ सालबाट ०५६ सालसम्म (दरबार हत्याकाण्ड) नहुँदासम्म माओवादी दरबारसाखुल्ले नै हुँदै आइरहेकोमा विमति राख्नुपर्ने कुनै कारण छैन ।

दाजुले हुर्काउँदै गरेको विषवृक्षलाई भाइ ज्ञानेन्द्र सरकारलाई चित्त बुझिरहेकोे थिएन । यसलाई बेलैमा नियन्त्रणमा ल्याउनुपर्छ नभए यसले देश तहसनहस पार्छ भनी असहमति राख्दै आउने एकमात्र राजा ज्ञानेन्द्र रहेछन्, तर दरबारभित्र उनको कुरा अल्पमतमा पर्ने गरेको थियो वा अनावश्यक ठान्ने गरेको थियो थाहा भएन (हेर्नुस् दरबारको दुखान्त – सुन्दरप्रताप राणा) ।

दरबार हत्याकाण्डपछि माओवादीले औपचारिक रूपमा घोषणा गऱ्यो- अबदेखि दरबारसँगको सहकार्य तोडियो भनेर ! त्यसपछि माओवादी आफ्नो झिटिगुन्टा बोकेर दिल्ली दरबारको शरणमा गयो । दिल्लीको शरणमा पुगेपछि बन्दुकको नाल नारायणहिटीतर्फ तेर्स्याउन थाल्यो ।

बन्दुकको नाल नारायणहिटीतर्फ तेर्सिन थालेपछि दरबार एक्लै पर्न थाल्यो । दाजुले हुर्काएको माओवादी लठैतहरू दिल्लीमा बसेर नेपालमा उत्पात मच्चाउँदै थिए भने संसद्वादी दलहरू हिजो हामीलाई माओवादीले दुःख दिँदा नारायणहिटी तमासा हेरेर बस्दै गरेको होइन ? भन्दै माओवादीतर्फ जोडिन थाले । जन्माउने त नारायणहिटी दरबार नै थियो तर यसलाई दुध खुवाएर हुर्काउने बढाउने मोटाउने सबै दिल्ली दरबारले गऱ्यो ।

दिल्ली दरबारको मेजमानी पाएपछि नेपालमा युरोपेली युनियन र अमेरिका पनि अप्रत्यक्ष रूपमा माओवादीले डडेलो लगाएको ठाउँमा मट्टीतेल खन्याएर दन्काउनेतर्फ लाग्यो । माओवादी र चर्च कनेक्सन २०५६ बाट सुरु भएको देखिन्छ, जुन कुराको खुलासा क्रिश्चियन पादरी डाक्टर रोकायले पटकपटक सार्वजनिक गरिसकेका छन् ।

माओवादीको क्रिश्चियन कनेक्सनपछि संस्कृत पाठ्यक्रम बहिस्कार गराउने, संस्कृत पढाउने शिक्षकको हत्या गर्नेदेखि सामाजिक सेवामा समर्पित पण्डित नारायण पोखरेलको हत्या गर्ने हुँदै आफ्नो आधार इलाका घोषणा गरेको क्षेत्रमा माओवादी जनसरकारले गाउँ-गाउँको देवी-देउरालीमा लाग्ने जात्रा मेला पर्वमा बन्देज गर्दै किरियासमेत गर्न नदिने सम्म नियन्त्रण गर्दै आउन थाल्यो भने अर्कोतिर इसाई मिसनरीलाई दुर्गम गाउँ-गाउँमा धर्म प्रचार गर्न छुट दिने गर्दै आउन थाल्यो ।

माओवादीले अति नै गर्न थालेपछि दैलेख जिल्लामा २०६१ सालमा पहिलोपटक दुल्लुवासीले विद्रोह गरे । त्यो विद्रोह वरपरका १३ गाविसमा फैलिएर नौमुलेसम्म पुग्यो । त्यहाँ पुगेको तत्कालीन माओवादी केन्द्रिय नेता खड्कबहादुर विश्वकर्मलाई मरणासन्न हुने गरी गाउँलेले कुटे ! आफूहरूविरुद्ध महिलाहरूलाई उचालेर विद्रोह गराएको भन्दै एमालेसमर्थित खड्कबहादुर खड्कालाई माओवादी कार्यकर्ताले हत्यासमेत गरे, तर विद्रोह झन् फैलिँदै जान थालेपछि माओवादीको हेड्क्वाटरसम्म हलचल मच्चिन थाल्यो ।

त्यसपछि माओवादी जनताको शक्तिको अगाडि पछिहट्न बाध्य भयो । माओवादीले यसलाई ‘एक स्टेप डाउन’ रणनीति भन्न थाल्यो । स्थानीय जनताको मन जित्न भन्दै दुल्लु-पीपलघारी सडक खन्ने काम गर्ने गर्दै केही जिल्ला स्तर नेताको एक तह पद पनि घटुवा गऱ्यो ! तत्कालीन जिल्ला एमाओवादी उपाध्यक्ष नयाराम थापा भन्छन्, ‘जनसत्ताको अति प्रयोगका कारण समस्या आयो । दशैंतिहार मनाउन नदिने, जमरा उखेल्ने, काजकिरिया गर्न नदिने, टुप्पी काटिदिने जस्ता काम भए । त्यसबाट जनआक्रोश बढ्यो ।’ (कान्तिपुर फाल्गुन २५, २०७१ )

माओवादीले हिजो जंगलमा हुँदा पनि हिन्दुविरुद्धमा काम गर्दै आइरहेको नै हो र, अहिले सरकारमा हुँदा पनि गर्दैछन् । हिजो जनसरकारको नाउँमा जबर्जस्ती गर्थ्यो भने अहिले वैधानिक कानुनअनुसार धारा दफामा टेकेर गर्दै छ ।

संस्कृति तथा पर्यटन मन्त्रालय माओवादीको भागमा परिरहनु संयोग मात्रै होइन सुनियोजित नै हो भन्ने कुरा अलिक समय घर्केपछि मात्रै गोर्खालीहरूले थाहा पाउने छन् ।

माओवादी पहिलोपटक सत्तामा आउने बित्तिकै हातै नपुछी हतारहतार पशुपतिमा पुजारी फेर्ने एजेन्डा कहाँबाट कसको निर्देशनमा आएको रहेछ भन्ने कुरा अब त अन्धो राष्ट्रवादीहरूले थाहा पाए कि पाएनन् होला ?

दैलेख जिल्लाको दुर्गम ग्रामीण भेगमा बस्ने दुल्लुवासी सर्वसाधारणले माओवादीद्वारा गरेको साँस्कृतिक अतिक्रमण विरुद्धमा विद्रोह गरेको थियो, तर शहरवासी पढेलेखेका बुद्धिजीवी बस्ने भनेर चिनिने काठमाडौं शहरमा राज्यको जिम्मेवार ठाउँमा बस्ने एक जना मन्त्रीले हिन्दुविरुद्धमा ठाडो भाषामा चुनौती दिएर बोल्दा आज सडक सुनसान छ ! शहर चकमन्न छ ! त्यत्तिकै भनेको होइन आहुतीले- यी हिन्दुवादी भनौँदोहरूले सडकमा ५००० मान्छे उतारेर देखाउ त ! उनले यस्तो चुनौती त्यसै नबुझी दिएको होइन । तैपनि एकाध जना जो सडकमा उत्रिए- उहाँहरूप्रति सत् सत् कोटी कोटी नमनः ।