नेपाली चेलीलाई किन सताइयो सिक्किममा ?

नेपाली चेलीलाई किन सताइयो सिक्किममा ?


नेपाली युट्युबर खोटाङकी उमा चामलिङ राई सिक्किममा सताइएकी छन् । उमामाथि सिक्किमको साम्प्रदायिक सद्भाव बिथोल्न खोजेको आरोप लगाइएको छ । उनी नेपाली मौलिक पर्व साकेलाको प्रवर्द्धन गर्न सिक्किम पुगेकी थिइन् । सिक्किमका राईहरूलाई आफ्नो मौलिक पर्वबारे जानकारी गराउँदै सचेत तुल्याउने उनको उद्देश्य थियो ।

उमाले युट्युबमार्फत राई बन्धुहरूमा शुभ सन्देश दिएर एउटा भिडियो सार्वजनिक गरेकी थिइन्, सोही भिडियोलाई आधार मानेर उनका विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो । भिडियोमा उमाले त्यस्तो आपत्तिजनक कुनै शब्द प्रयोग गरेकी छैनन्, तथापि सिक्किममा यसलाई किन ‘तीललाई पहाड’ बनाइयो भन्ने प्रश्न उठेको छ र, विषयलाई रहस्यपूर्ण मानिएको छ ।

प्राप्त जानकारीअनुसार उमा सिक्किमका इसाई र फरक जातका मुख्यमन्त्रीको पूर्वाग्रहको सिकार बनेकी हुन् ।

केही साताअघि ललितपुरको हात्तिवनमा किराँत धर्मावलम्बीहरू जम्मा भइ त्यहाँ सरसफाइ कार्यक्रमसहितको समारोह आयोजना गरिएको थियो । उक्त कार्यक्रममा इसाई धर्मप्रवद्र्धक सुदन किरातीलाई प्रमुख अतिथि बनाइएको थियो भने ब्यानरमा किराँत धर्म-संस्कृतिविरूद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै हिँड्ने अर्का इसाई धर्मप्रचारक भक्ते राईको तस्बिर टाँसिएको थियो ।

त्यसरी भक्तेको फोटो राखेको धेरैलाई मन परेको थिएन र, त्यहाँ विशिष्ट अतिथिका रूपमा उपस्थित ख्यातिप्राप्त नेपाली गायक राजेश पायल राईले ब्यानरबाट भक्ते राईको तस्बिर हटाउन लगाउनुभएको थियो । यस घटनाले सुदन किराँतीलगायत नेपाल र सिक्किममा रहेका इसाइहरूलाई धेरै क्रुद्ध तुल्याएको थियो । सोही कारण लोकप्रिय गायक राजेश पायललाई सिक्किममा रोक लागेको बताइएको छ ।

उमा चाम्लिङ राईलाई पनि त्यहाँका इसाइहरूले हात्तिवन घटनाको बदला लिने उद्देश्यले पक्राउ गरेको बुझिएको छ । उमा चाम्लिङ अर्को कारणले पनि पूर्वाग्रहको सिकार बनेकी हुन् । उनलाई पूर्व मुख्यमन्त्री पवन चाम्लिङको खास मानिसका रूपमा त्यहाँको सतापक्षले लिएको छ र, चाम्लिङकै मानिस भएको भन्दै सिक्किममा प्रचार पनि सोही रूपमा गरिएको छ । हाल सिक्किममा जुझारु युवा पिएस गोले मुख्यमन्त्री पदमा छन् र उनी पवन चाम्लिङलाई आफ्नो प्रतिष्पर्धी ठान्दछन् ।