आजको पञ्चाङ्ग एवम् राशिफल (२६ पुष २०८० बिहीबार, ११ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ पुष २०८० बिहीबार, ११ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष २६ गते तद्अनुसार सन् २०२४ जनवरी ११ तारिख बिहीबार पौष कृष्णपक्ष अमावश्या तिथि पूर्वाषाढ़ा नक्षत्र व्याघ्यात् योग किंस्तुघ्न करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त सांझ १७ः२५ बजे हुनेछ । वेत्रावती, गोकर्ण, वराहक्षेत्र र विष्णु पादुका, कोसी, गण्डकी आदि तीर्थहरुमा स्नानदानश्राद्धादि, गयामौनी औंसी ।

आजको राशिफल

मेष – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने दिन छ । घरखर्च पनि बढ्ला । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्ने योग रहेकोले संयमताको जरुरत छ । विवादबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद रसराग तथा मनोरञ्जनमा मन जाला । धार्मिक कार्यमा पनि आकर्षण बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ ।

वृष – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यसम्बन्धीे समस्याले सताउन सक्छ, सचेत रहनुहोला । मित्रजनले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्ने योग रहेकोेले सावधान रहनुहोला । दौडधुपका साथै जोखिम बढ्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । अध्ययन-अध्यापनमा प्रगति होला । कृषि र पशुपालनबाट फाइदा हुनेछ । यात्रा पनि उपलब्धीमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । कामको नयाँ योजना छ भने शुरु गर्नु उपयुक्त होला । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी काममा भने केही ब्यवधान आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिष्पर्धी परास्त होलान् । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – आजको दिन दोडधुप र खर्च पनि बढ्न सक्छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्ला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटाव एवम् विश्वासमा पारेर धोका दिने सक्रिय रहलान् । रसरागको भाव वृद्धि होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । परिवारजनबाट सुख-सन्तोष मिल्नेछ ।

कन्या – व्यस्तताका साथै अनुकूलता वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । लाभदायी कामको दायित्व बढ्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । मान महत्व बढ्नेछ । कुनैपनि समस्याको समाधान मिल्ने समय छ ।

तुला – सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने समय छ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । पराक्रम र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । समग्रमा दिन राम्रै छ ।

वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कुनै कामविशेषमा विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्ने दिन छ । परिवारिक सुख बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ भने रोकिएको काम बन्नेछ । आरोग्यता रहला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – व्यापार-व्यवसायमा राम्रै फाइदा भएता पनि आर्थिक अभावको अनुभूति हुने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि विशेष अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । सुख-समृद्धि बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण वृद्धि होला ।

मकर – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । नाता-कुटुम्बको सहयोग प्राप्त होला । व्यापार-व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । कर्मबल बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

कुम्भ – कामबाट प्रशस्त लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – केही प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् भने यात्राको योग छ । आफन्तको साथ कमै मिल्ला । साझेदारीको काम बन्नेछ । सुखविलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।