प्रकृतिसमेत नेताकै कारणले पीडित

प्रकृतिसमेत नेताकै कारणले पीडित


अमेरिकाको लसएन्जलस सहरकै एक टोल लसफिलिज भन्ने रहेछ । एक दिन म बिहानै आफ्नो होटलबाट निस्केर हातमा क्यामरा बोकी खोला किनारतिर लागेँ । त्यहाँका मानिस जगिङ गर्न, कुकुरलाई डुलाउन पनि आउँदा रहेछन् । त्यति व्यस्त सहरबीचबाट त्यो खोला बगेको भए पनि त्यसको पानी कञ्चन थियो । पान्ाीभित्रका माछा पनि बाहिरबाट देखिएझैं लाग्दथ्यो । अझ अचम्म लाग्ने कुरा त त्यो खोलामा के थियो भने त्यहाँ लाखौँ पानीहाँस खेलिरहेका थिए । आँखाले देखुन्जेल खोलामा जता हेरे पनि अनगिन्ती जलचर देखिन्थे । म किनारको डिलबाट तल खोलामै झरेँ, जुत्ता-मोजा खोलेँ, पानीमा खुट्टा डुबाएँ । केटाकेटीमा काठमाडौंमा बग्ने विष्णुमती, साँग्लेखोला र स्वप्नतर्ीथ आदि खोलामा म त्यसैगरी कुनै ढुङ्गामा बसी खुट्टा पानीमा डुबाउने गर्दथेँ । तर, नेपालका ती खोलामा अहिले नलिखुट्टो पनि नडुब्ने र पानीको ठाउँमा गन्धकी मात्र बगेकोले त्यो बाल्यकालको रहर पूरा गर्न म त्यस दिन लसएन्जलसको खोलामा आफ्ना खुट्टा डुबाई केहीबेर बसिरहेँ ।
बगिरहेको चिसो पानीको लगातार र्स्पर्शले मलाई प्राकृतिक आनन्द दिइरहेको थियो । खोलाभित्र हरिया-हरिया जुँगाझैं देखिने मुठ्ठा-मुठ्ठा लेउका लहरा पनि थिए । मैले ती लहरा बाहिर निकाली तीनचुल्ठे कपाल बाटेझैं गरी बाटेँ । डोरी खुब बलियो पनि देखियो । त्यसलाई फेरि पानीमा बगाइदिएँ । केटाकेटीमा झैं आप\mनो जन्मस्थानमा लेउसँग खेल्ने इच्छा पनि त्यस दिन पूरा भयो । जङ्गली पानीहाँसहरू मेरो छेउछेउसम्म आइरहेका थिए । लामो नदी किनारमा म मात्र एक्लो व्यक्ति त्यसरी पानीभित्र खुट्टा डुबाएर बसिरहेको थिएँ । छेउछेउबाट कहिले कुकुर डोर्‍याउँदै त कहिले घोडा चढेका मान्छेहरू आउँथे-जान्थे, तर सायदै कसैलाई थाहा हुन्थ्यो कि म कहाँबाट आएर के सोच्दै, पानीमा खुट्टा डुबाइरहेको हुँला भनेर । मेरो बाल्यकालको त्यो रहर काठमाडौंमा पूरा हुन नसकेको कारण त्यस दिन त्यो नदीमा म यसरी एक्लै बसिरहेको छुु भन्ने कुरा जान्ने यो संसारमा सायद मै मात्र थिएँ ।
केहीबेरपछि म उठेँ । मोजा-जुत्ता लगाएँ र फर्किएँ । पारिपट्टि लगातार हजारौँ गाडी गुडिरहेका थिए । त्यो कोलाहलको छेउमै पनि यो शान्त नदीले बाधा-अडचनबिना प्राकृतिक रूपमै यात्रा गर्न पाइरहेको थियो । नेपालका नदीले जस्तो सहरभरिका ढल हामीले बोक्नुपर्छ भन्ने कुरा त्यो नदीलाई के थाहा हुन्थ्यो र ?
म होटल फर्केर सोच्न थालेँ कि यो मुलुकमा मान्छे, जनावर र प्रकृति सबैले शानका साथ आ-आफ्नो अस्तित्व राख्न कसरी सफल भइरहेका होलान् ? नदी हेर्‍यो स्वच्छ नै छ, पहाड हेर्‍यो त्यहाँ ढुङ्गा खोतल्ने कोही नै छैनन्- हरभरा नै छ, जङ्गल हेर्‍यो रूख चोर्नेहरू छैनन्, पशु हेर्‍यो मालिकबिना नै खुल्ला छोडिएका छन्, त्यहाँ खसी-बाख्रा चोरहरू देखिँदैनन् । तलाउ हेर्‍यो पूरै आकाशको आकृति पानीमा देखिन्छ, कारखाना हेर्‍यो चलिरहेका छन्, युनियनले ताला लगाएका छैनन्, गडीहरू हेर्‍यो निरन्तर दौडिरहेका छन्, सडक जाम छैन, दिनदिनै लाइसेन्स र ब्लुबुक चेक गर्ने पुलिस पनि छैनन् । मानिस हेर्‍यो ठूलो स्वरले झगडा गर्ने पनि कोही देखिँदैन । रातमा पनि एक्लो ड्राइभरले रेल, बस चलाइरहेको छ र उसलाई सुरक्षाको चिन्ता छैन । जहाँ रेडलाइट एरिया छ त्यहाँ यौनकर्मी अधिकारसम्पन्न भएर उभिएका छन्, तिनलाई शोषण गर्ने मानिस छैनन् । राजनीति भइरहेको छ तर बजार बन्द छैन । पूरै समय सहर विद्युत्मा आधारित छ तर लोडसेडिङ छैन । बीचबजारमै मृगहरू निस्किएका छन् तर तिनलाई ढुङ्गा हान्ने कोही छैनन् । मजस्तो अस्तव्यस्त देशबाट गएको व्यक्तिलाई त्यहाँको बलिरहेको बिजुली, सफासँग बगिरहेको खोला, ताल्चा नलागेको उद्योग र सजिलोसँग हिँडिरहेको गाडीले अचम्म पार्दथे नै । यो सब कुरा देखेर म होटलमा सोच्न थालेँ कि आखिर सय वर्षअघिको इतिहास हेर्ने हो भने मुलुक नै नबनिसकेको त्यो देशले यो उन्नति कसरी गर्‍यो होला त ? सबैको अस्तित्वरक्षा गर्न कसरी सक्यो होला त ?
म यस्तै-यस्तै कुरामा थिएँ, टेलिभिजनमा चारजना रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपति हुने उम्मेदवारको अन्तरक्रिया कार्यक्रमको सीधा प्रसारण आयो । ती चारैजना विभिन्न राज्यका गभर्नर पनि भएका व्यक्ति रहेछन् । ठूलो सङ्ख्यामा प्रेस र दर्शकबीच कार्यकक्रम प्रस्तोताले तपाईंलाई आगामी चुनावमा राष्ट्रपतिको चुनावमा उम्मेदवार किन बनाउने त ? भनेर प्रश्न गर्‍यो । प्रश्न जसलाई सोधिन्थ्यो ती उम्मेदवारहरूले आत्मविश्वासका साथ आगामी राष्ट्रपतिको उम्मेदवार पार्टीले आफूलाई किन बनाउनुपर्ने हो भनेेर मजबुत दलिल दिन्थे । उनीहरू सबैमा देशको आर्थिक अवस्था, वैदेशिक नीति र सामाजिक परिवेशको राम्रा ज्ञान देखिन्थ्यो । सबैले विभिन्न तथ्याङ्क दिँदै अमेरिकी नागरिकको जीवनलाई अझै माथि उठाउने, सामाजिक सुरक्षा अझै मजबुत बनाउने, रोजगारको अवसर नयाँ-नयाँ सिर्जना गर्ने, राष्ट्रको सुरक्षा मजबुत गर्ने, अन्तराष्ट्रमा अमेरिकालाई अझै सम्मानित पार्ने, वातावरणको संरक्षण गर्ने, ऊर्जा उत्पादन बढाउने आदि कुरा गर्दथे । त्यहाँ उम्मेदवार हुनेहरू एउटै पार्टीका थिए तर प्रचण्डलाई मोहन वैद्यले प्रेस कन्प्/mेन्समा गाली गरेझैं, वामदेवलाई केपी ओलीले आफ्नो पार्टी भेलामा गाली गरेझैं, शेरबहादुरले आफ्नै काङ्ग्रेस भेलामा सुशील कोइरालाको विरोध गरेझैं, विजय गच्छदारलाई शरतसिंह भण्डारीले सरकारबाट बाहिर आउन भनेझैं एकले अर्कालाई होच्याउने कुरा गरिरहेका देखिँदैनथ्यो । उनीहरू सबैले त्यो देशको सुरक्षा, विकास र पर्यावरण रक्षाको कुरामा म अरूभन्दा प्रभावकारी ढङ्गले सेवा दिन सक्छु, विभिन्न कार्यक्रमहरू ल्याउन सक्छु भनेर नै आफ्नो उचाइ बढाउन खोजिरहेका थिए । झन्डै दुई घन्टा लामो त्यो कार्यक्रम मैले पूरै हेरेँ । चाहे अफगानिस्तानको लडाइँलाई कसरी अगाडि बढाउने भन्ने कुरामा होस् वा इरानलाई अब कसरी हेर्ने भन्ने कुरामा होस्, चाहे अमेरिकाको भावी आर्थिक नीति कस्तो हुनुपर्ने भन्ने कुरोमा होस् वा एसियालाई अमेरिकाले हर्ने दृष्टिकोण अब कस्तो हुनुपर्छ भन्ने कुरामा होस्, प्रत्येक उम्मेदवारको आ-आफ्नो दृष्टिकोण प्रस्ट थियो । उनीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो कि मानौँ ती व्यक्तिहरू त्यही विषयमा काम गर्ने विशेषज्ञ हुन् ।
टेलिभिजनमा जब सीधा प्रसारणको त्यो कार्यक्रम समाप्त भयो त्यसपछि केही क्षण अघिसम्म मेरो मनमा उठेका प्रश्नको चित्तबुझदो जवाफ पनि मलाई मिल्यो । मैले त्यो कार्यक्रम हेरेर यो कुरा बुझेँ कि त्यो देशमा खोला-नालादेखि जनावर अनि प्रकृति र मानिससम्मले सुरक्षापूर्वक सम्पन्नताबीच बाँच्न पाएको त्यहाँका राजनीतिक नेताहरू काविल भएर नै रहेछन् । रूखले राज्य चलाउन सक्दैन, नदीले बजेट बनाउन सक्दैन, जनावरले बाटो खन्न सक्दैन, आखिर राज्य चलाउने त मानिसहरू नै हुन् । ती मानिसहरूमा पनि राज्यलाई दिशा दिने, त्यसको सुरक्षा गर्ने र त्यसलाई सम्पन्न बनाउने जिम्मा पाएका मानिसहरू त राजनीतिक नेताहरू नै हुन्छ, बाँकी त कोही कर्मचारी भएर, कोही कृषक भएर, कोही व्यवसायी भएर ती नेताहरूले बनाएका नियम-कानुनभित्र रहेर काम गर्ने मात्र हुन् । मुलुकको तर्फबाट सपना देख्नेहरू त नेताहरू नै हुन्छन् । यसलाई सौभाग्य नै मानौँ त्यहाँ देश, जनता र प्रकृतिबारे सोच्ने नेता रहेछन्, त्यसैले त्यहाँ बीचसहरमा बगेर पनि नदी स्वच्छ भएर बाँच्न पाएको रहेछ, मृग निस्पिmक्रीसँग घुम्न पाएको रहेछ, गाडी स्वतन्त्रसँग कुद्न पाएको रहेछ, मानिसलाई बुढेसकालमा दु:ख होला भनेर सोच्न नपर्ने रहेछ, किनकि सबैको तर्फबाट सोचिदिने नै त्यहाँ जनप्रतिनिधि हुँदारहेछन् ।
अहिले जब म बागमती नदी किनारमा पुग्छु र फोहोरका थुप्रा तान्न नसकेको उसको अवस्था देख्छु, अनि ती नदीलाई भन्ने गर्छु’के गर्र्छौ तिम्रा कर्ममा राम्रा जनप्रतिनिधि नै रहेनछन्, अमेरिकामा बग्न किन नपुगेको ?’ जब खाग काटिएको मृत अवस्थाको गैंडा देख्छु अनि त्यसलाई पनि भन्छु, ‘के गर्र्छौ तिमी अमेरिकामा जन्मेका भए हुन्थ्यो, त्यहाँका नेताले तिमीलाई माया गर्थे, किन तिमी यहाँ जन्मेको त ?’ चाहे अस्तव्यस्त ट्राफिक होस् चाहे बेरोजगार युवाहरूको लाइन, चाहे युनियनले ताला लगाइदिएको उद्योग होस् वा मिटर चलाउँदिनँ भन्ने ड्राइभरबाट हाकाहाकी ठगीमा पर्दै आएका नागरिक होस्, जब-जब तिनलाई दीनदु:खी अवस्थामा देख्छु, मेरो मुखबाट यही निस्कन्छ, ‘के गर्र्छौ तिम्रा सुरक्षा गर्न नसक्ने, तिम्रा स्याहारसुसार गर्न नसक्ने जनप्रतिनिधि भएको देशमा जन्मियौ, त्यही देशको सीमाभित्र पर्‍यौ, त्यसैले दु:ख पायौ ।’
म संसार घुम्छु । त्यहाँको पतन वा विकासको रहस्य पत्ता लगाउन खोज्छु । देश माथि लैजान वा प्रकृतिको रक्षा गर्न ज्ञान-विवेक राष्ट्रियता र इमानदारी भएको जनप्रतिनिधि नभई हुँदोरहेनछ । जुन मुलुकका नेता माथि भनिएझैं पाइए ती मुलुकले उन्नति गरे । हाम्राजस्तो मुलुक जहाँका नेतामा न भिजन छ न ज्ञान छ न त सीप नै छ न राष्ट्रियता छ न त इमानदारी नै छ, केवल अल्पज्ञान लिएर सिङ्गो पार्टीको महाअधिवेशन जित्ने र सधैं केवल सरकारमा जाने सपना मात्र भएका एजेण्डाहीन जनप्रतिनिधिले यो अस्तव्यस्त मुलुकको काँचुली फेर्छन् भन्ने मलाई एक प्रतिशत पनि विश्वास छैन । यस्तै नेता भएको कारण म मात्र होइन मजस्ता अर्ढाई करोड जनता अभाव, गरिबी, असुरक्षा र अँध्यारोमा बाँच्न विवश छन् । बिचरा हामी मात्र होइन यहाँका त नदी पनि खराब नेताहरूको मारमा परेका छन् ।