लण्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फ्रेन्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल ग्रुपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनविच काउन्सिलबाट सो अवार्ड प्रदान भएको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराएवापत नीम ट्रीले अवार्ड पाएको हो ।
स्थानीय काउन्सिलबाट प्रदान गरिएको सो अवार्डलाई बेलायत सरकारको स्वास्थ्य विभागले समेत मान्यता दिने गरेको छ । वीलवीचमा आयोजित एक कार्यक्रममा ग्रीनवीच काउन्सिलका जनस्वास्थ्य विभाग निर्देेशक स्टिभ ह्वाइटम्यानले नीम ट्रीकी निर्देशक शोभा कँडेललाई अवार्ड प्रदान गरेका थिए ।
कँडेल ग्रुपले नीम ट्री र विलविच लेट नाइट गरी लण्डनमा दुइटा फार्मेसी सञ्चालन गरेको छ । लण्डनमा अहिलेसम्म नेपाली व्यवसायीबाट सञ्चालित फार्मेसी यी दुई मात्र हुन् ।
दुबै फार्मेसीमा नेपाली भाषा बोल्ने कर्मचारीहरु पनि छन् । विशेष गरी अंग्रेजी भाषा बोल्न नजान्ने भूतपूर्व गोर्खाहरुका लागि यी दुबै फार्मेसीका कारण निकै सजिलो हुने गरेको छ । यी फार्मेसीहरुले गोर्खाहरुका लागि विशेष प्राथमिकता र सहुलियत सहितको सेवा पनि उपलब्ध गराउँदै आएका छन् ।
स्मरण रहोस्, सोही कँडेल ग्रुपको नेपालमा बेलायती विश्वविद्यालयबाट मान्यताप्राप्त द व्रिटिश कलेज पनि सञ्चालन रहेको छ ।
प्रतिक्रिया