मानिसले चाह्यो भने जे पनि गर्न सक्छ, यदि उसमा इच्छा शक्ति र सामर्थ्य छ भने, तर त्यसको लागि ईमान्दारिता हुनु उत्तिकै आवश्यकता हुन जान्छ । हजारौंको संख्यामा नेपालीहरुको बसोबास रहेको बेलायतमा नेपाली संघसंस्थाहरुको गणना गर्ने हो भने हातका औंलाहरू भाँच्न कतिपटक दोहोर्याउनु पर्ने हो भन्न गार्हो छ । सामाजिक संघसंस्थाको नाममा जात जातीय तथा क्षेत्रीय रुपमा संगठित प्राय सबै नेपाली संघ संस्थाहरुले केही सामाजिक कार्य भने नगरेका होइनन् तर सबैजसो तिनीहरुको आ-आफ्नो क्षेत्रसंग मात्र सीमित रहेका छन् । सम्पूर्ण नेपालीहरुको हकहितको लागि लागिपर्ने संघ संस्था खोज्नुपर्दा दिउँसै राँको बाल्नुपर्ने हुन्छ, भने भएकाहरुले पनि नेपाली मौलिकतालाई त्याग्न सकेका छैनन् जसले गर्दा नेतृत्वको चयनमा बारम्बार खिचातानी हुनुका साथै सधैं रडाको मच्ची रहेको हुन्छ । तर यदि समाज सेवा गर्ने भावना भित्री मनबाट हुने हो भने पदमै मात्र बस्नुपर्छ भन्ने जरुरी छैन, यो कुरालाई सबैले बुझ्न आवश्यक हुन्छ ।
भर्खरै मात्र बेलायतमा बसोबास गर्दै आएका केही नवयूवाहरु मिलेर “हेल्पिंग यू” नामको एउटा सानो संस्थाको स्थापना गरेका छन्, जुन संस्था अहिले विशेषगरी लण्डनको सेरोफेरोमा मात्र सीमित रहेता पनि बिस्तारैबिस्तारै सबै क्षेत्रलाई समेट्दै जाने तिनीहरुको लक्ष्य रहेको छ, उक्त संस्थाले बिशेषगरी हाम्रा वृद्ध बाजे बजुहरुलाई सहयोग गर्दै आइरहेको छ । उनीहरुलाई अस्पताल, यातायात लगायतका विभिन्न स्थानहरुमा ल्याउने लैजाने र आवश्यक दोभासेको कामसमेत गरिरहेका छन् । यसका साथै प्रत्यक आइतबारका दिन समरको समयमा वाकिंग ग्रूप स्थापना गरी बाजेबजुहरुलाई मार्निंग वाक गराउने तथा सामान्य स्वास्थ्य जांच गर्ने जस्ता काम गर्दै आएका थिए भने जाडोको समय शुरु भएपछि उनीहरुले लन्डनस्थित नोर्थ हल्टमा एउटा हल बुक गरी हरेक आइतबारका दिन १२ बजेदेखि ०३:३० सम्म “आइतबारे चौतारी”को आयोजना गरी थुप्रै वृद्ध तथा बालबालिकाहरुलाई जम्मा गरेर उनीहरुलाई बिबिध बिषयमा जानकारी दिलाउनुका साथै मेडिटेशनको पनि शुरुवात गरेका छन् ।
सी.आर. आई. (Crime Reduction Initiatives ) नामक एक च्यारिटी संस्थासंग मिलेर गुर्खाली परिवारहरु जो अंग्रेजी बोल्न सक्दैनन् उनीहरुको लागि बिबिध जानकारीमुलक कार्यक्रमको साथै एउटा छुट्टै कार्डको पनि ब्यबस्था गरिएको छ जसले गर्दा उक्त कार्ड देखाएको खण्डमा सम्बम्धित ठाउँमा सहयोग पुग्नेछ । जो कोहीले पनि सहयोगको भावनाले सहभागिता जनाउन सक्ने र सोही अनुरुप चल्दै आएको उक्त संस्था लगभग ७ महिनाअघि मात्र स्थापना भएको हो । उक्त संस्थामा अहिलेसम्म कुनै पनि पदको बर्गीकरण तथा बांडफांड गरिएको छैन । “हेल्पिंग यू” का एकजना संयोजक लेख राज लिम्बू जसलाई खासगरी बहत्तर-बहत्तरेको नामले पनि चिन्ने गरिन्छ । उनको भनाइअनुसार बेलायतमा थुप्रै संघसंस्थाहरु भएको तर तिनीहरु जात, जाति र क्षेत्रसंग मात्र आवद्द रहेको र सोही वर्ग र क्षेत्रलाई मात्र सहयोग गर्दै आएको उनको अनुभव रहेको छ, उनले गुनासो थियो । अघिल्लो पुस्ताहरुले जति पनि गरेका क्रियाकलापहरुमा पछिल्लो पुस्ताहरुलाई समेट्न नखोजेको वा नचाहेको र उनीहरुलाई प्रोत्साहन गर्ने खासै केही नगरेको उनी बताउ छन्, बेलायतमा हाल बिशेषगरी बूढाबूढीहरुलाई निकै समस्या रहेको र उनीहरुलाई घरमा मात्र बसिरहनु पर्ने, बाहिर जानलाई भाषा लगायतका बिबिध समस्या आइपर्ने र कतिपयका आफन्तहरु पनि नभएको अनि भएकाहरुले पनि कामको व्यस्तताले समय दिन नपाउंदा मानसिक तनावमा डुबिरहेका छन्, तर उनीहरुको लागि कसैले पनि कुनै कदम नचालेको लेखराज बताउँछन् । यिनै कुराहरुलाई मध्यनजर गर्दै “हेल्पिंग यू” को स्थापना गरी सबै सहयोगी मन भएका युवाहरु मिलेर सहयोग गर्दै आइरहेका छन् । यहाँ मात्र होइन, उनीहरुले दशैंको मौका पारी नेपालका सडक बालबालिकाहरुलाई रू.६०,००० सहयोग गरी तिनीहरुलाई दशैं मान्ने वातावरण मिलाइदिएका थिए ।
धनी तथा हुनेखानेलाई त सधैं दशैं आउँछ तर नहुनेलाई के को दशैँ ? त्यसैले आफूहरु मिलेर केही रकम जम्मा गरी सहयोग गरेको उनले बताए । त्यस्तै बेलायतमा थुप्रै रेष्टुरेन्टहरु भए पनि युवाहरुको लागि कुनै व्यबस्था भएकोले भर्खरै मात्र लन्डनस्थित नोर्थ हल्टमा केही साथीहरुसंग मिलेर लेखराजले ठमेल बार एण्ड ग्रील नामको एउटा रेस्टुरेन्ट खोलेका छन् जसमा उनले सबैलाई समेट्ने खालको बरवारण मिलाउने उनीहरुको सोंच रहेको छ ।
अन्तमा उनीहरुले उठाएको यो कदमले के कतिसम्म निरन्तरता पाउनेछ र कत्तिको साथ पाउनेछ, त्यो कुरा त आफ्नै ठाउँमा छ तर उनीहरुले चालेको यस्तो कदम र उनीहरुको सोचप्रति सबैले मनन गर्नु जरुरी छ, साथै अन्य सबै युवा पुस्ताहरुले यस्तै सोच राखेको खण्डमा युवा पुस्ताहरुप्रति गरिंदै आएका नकारात्मक सोंचहरु अवश्य पनि अन्त हुनेछन् । विदेशमा रहेता पनि नेपाल तथा नेपालीपनको अस्तित्व जोगाइ राख्न सबैले नेपाली भएर हातेमालो गर्नु आवश्यक हुन जान्छ । वृद्ध, बालबालिका अशक्त तथा अपांग जस्ता ब्यक्तिहरुलाई सबैले सहयोग तथा उनीहरुलाई हौशला प्रदान गरी तिनीहरुको जीवनलाई सदाबहार गराउने प्रयाश गर्नु नै सबै भन्दा ठूलो मानव धर्म हो ।
[youtube]http://m.youtube.com/watch?v=g6_D8CSfJBQ&feature=youtu.be[/youtube]
प्रतिक्रिया