कुलमानबाट भ्रष्टाचारको बेग्लै काइदा !

कुलमानबाट भ्रष्टाचारको बेग्लै काइदा !


अनियमितता छोप्न कर्मचारी नेतालाई वर्षेनी ५ करोड वितरण

  • सुरेन्द्र सुवेदी, काठमाडौं

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका भ्रष्टाचार र अनियमितताका फेहरिस्त फेलापर्न थालेको छ । कार्यकारी प्रमुख घिसिङले प्राधिकरणभित्र उनले गरेका अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न कर्मचारी युनियन र सङ्घका मजदूर नेताहरूलाई वर्षेनी ५ करोड रुपैयाँ वितरण गर्दै आएको खुलासा भएको हो ।

युनियनका केन्द्र, प्रदेश र इकाइ समितिमा रहेका देशभरका समितिका सबै पदाधिकारी र सदस्यहरूलाई उनले भ्रमणभत्ता, पर्यटन भ्रमणजस्ता नाममा प्राधिकरणको विनियम मिचेर रकम दिँदै आएका हुन् । समाचार श्रोतका अनुसार घिसिङले आफ्नो पोल नखोल्ने शर्तमा करिव ४ सय जना कर्मचारीलाई नियमित रकम दिएर पालेका छन् ।

गत पुस २२ गतेदेखि यही माघ २ गतेसम्म घिसिङले कर्मचारी युनियनका सहअध्यक्ष टंक अधिकारी र महासचिव धिमलराज न्यौपानेसमेत पन्ध्र जनालाई विराटनगर (मोरङ) र भद्रपुर (झापा) भ्रमणको लागि विदा दिए । सहअध्यक्ष अधिकारी र महासचिव न्यौपानेको टिम प्लेन टिकटसमेतको सुविधा लिएर मोरङ हानियो । त्यसको १/२ दिनपछि यो टिम भारतको आसाम र कामाख्य मन्दिरमा फोटो सुट गरेको तस्बिर बाहिर आयो । प्राधिकरणबाट सेवा-सुविधा लिएर आमाबुबा, ससुराली खलक, श्रीमती, छोराछोरीसमेत गएको यो टोली प्राधिकरणको कामभन्दा कूलमानको आशीर्वादले भारत घुमेको भन्दै प्राधिकरणका कर्मचारीहरू रुष्ट भए । माघ २ सम्मको भ्रमण भएपनि भारत यात्राको समेत तस्बिर सार्वजनिक भएको कारण विवादित बन्ने भयले यो टोली काजअवधि नसकी काठमाडौं आइपुग्यो ।

यो काजविदा विवादमा परेपछि कर्मचारीका नेताहरू (अधिकारी र न्यौपानेसमेत) ले अर्काे जुक्ति निकाले र त्यही मितिमा पर्यटन विदाको बाटो रोजे । ज्ञातव्य छ, पर्यटन विदामा अन्य विदाभन्दा २५ प्रतिशत थप रकम प्राधिकरणले दिन्छ । त्यही मितिमा दैनिक भ्रमण भत्ता पाउने, दैनिक भ्रमण भत्ता नपाउने र पर्यटन विदासमेत तीन प्रकारका विदा कूलमानका सारथीहरू इन्जिनियरिङ निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारी, प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक तुलाराम गिरीले हस्ताक्षर गरेर दिएका छन् ।

महिनामा २१ दिन हाजिर भएका कर्मचारीले मात्र पर्यटन विदा पाउने नियम छ । यो विदा कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका कर्मचारीले पाउन सकेनन् । प्रदेशसरकारले धेरै विदा दिएकोले उनीहरू महिनामा २० दिनसम्म मात्र हाजिर भए । यसरी करिव ४ हजार कर्मचारी पर्यटन विदाबाट विमुख भए । तर, युनियनका नेता तथा कूलमानका सारथीहरूलाई यो नियम नलाग्ने प्राधिकरणका एक कर्मचारीले घटना र विचारलाई बताए ।

प्राधिकरणमा ८ हजार ६ सय कर्मचारी छन् । तीमध्ये नेता भनाउनेहरू करिव ४ सय जना रहेका र कर्मचारीले पाउने सेवा तथा सुविधा उनीहरूले लिने, काम पानि गर्नुनपर्ने भइरहेको छ । यही प्रकरणपछि प्राधिकरणमा नेता भनाउँदा ४ सय जना जना एकापटि र ४ प्रदेशका ४ हजार जनासमेत ८ हजार २ सय कर्मचारीबीच द्वन्द्व चर्किएको छ । ट्रेड युनियनका नेताले काम पनि गर्नुनपर्ने र कर्मचारीको हितभन्दा कूलमानहितमा काम गरेको भन्दै कर्मचारीहरू रुष्ट बनिरहेका छन् ।

अर्काे हास्यास्पद निर्णय कूलमानले गरेर जगत हँसाएका छन् । उनले प्राधिकरणको खर्च कटौति गर्ने भन्दै भऱ्याङ बोक्ने, पोल चढ्ने, श्रमिक ओसार्ने चालकहरूको ओभरटाइम काटिदिएका छन् । तर, उनका आसेपासेलाई भने वर्षमा ५ करोडबढी भ्रमणका नाममा भत्ता वितरण गरिरहेका छन् । उनले देशका करिव तीन दर्जन जना पत्रकार तथा पत्रकार आवरणमा रहेकाहरूलाई मासिक रकम उपलब्ध पनि गराउने गरेको प्राधिकरणको एक उच्च श्रोतले घटना र विचारलाई बतायो ।