आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८० बिहीबार, १५ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८० बिहीबार, १५ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ३ गते इ.सं. २०२४ फरवरी १५ तारिख बिहीबार माघ शुक्ल पक्षको षष्ठी तिथि अश्विनी नक्षत्र शुक्ल योग गर करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा भयो र सूर्यास्त साँझ १७ः५३ बजे हुनेछ । स्कन्द षष्टीतथि ।

आजको राशिफल

मेष – मिश्रित परिणामप्राप्तिको समय छ । प्रेमको बन्धन कसिनेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आजको दिन सवारीसाधनो प्रयोगमा चाहिँ विशेष सावधानी अपनाउनु उचित हुनेछ । काम बनाइदिने भनी आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्ने योग रहेकोले सचेतनाको आवश्यकता छ । आरोग्यबल बढ्नेछ । यात्रागत काममा सफलता प्राप्त हुनेछ ।

वृष – रोकिएको काम बन्नुका साथै उत्साह जागृत हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कर्मले सन्तुष्टि दिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहला । परिवारिक सुख बढ्नेछ ।

मिथुन– बाध्यताका काममा जुट्नुपर्ने समय छ । तर, पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै पनि कार्यमा बलजफ्ती नगर्नु हितकर हुनेछ । यात्रामा समस्या आउने र चिताएको काम बिग्रन सक्ने योग रहेकोले विशेष सावधानीको दरकार छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तापनि धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । आशा देखाउनेहरूको पूरै भरपर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । मिठो भोजन जुर्नेछ । खेलकूद भ्रमण आदिमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्ने योग रहेकोले अरुको भर नपरेकै राम्रो हुनेछ ।

सिंह – दौडधुप र जोखिम बढ्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले प्रताडित गर्न सक्छन् । लगनशीलताले कीर्तिमानी दिलाउला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ रपनि साहस वृद्धि हुने देखिन्छ । कर्मबल बढ्नेछ भने रसरागमा आकर्षण रहला ।

कन्या – अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । व्यावसायिक काम बीचमा अवरुद्ध हुनसक्ने योग भएपनि आम्दानीमा कमी नहोला । आतिथ्यपूर्ण सम्मान प्राप्ति हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद रहला । आरोग्यता रहनेछ ।

तुला – अनुकूलता र साहस वृद्घि हुनेछ । प्रतिभा प्रदर्शनबाट प्रशंसा मिल्ने समय छ । गुरुजन तथा अग्रज पात्रको विशेष सहयोग जुट्ला । प्रयत्न गरेका कामबाट ढिलै भएपनि राम्रै उपलब्धि मिल्ने देखिन्छ । तथापि, काम बिग्रने भयले सताउला । लगानी र दौडधुप वृद्धि हुने योग छ । विशेष ठानेको कार्यमा न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने हुन सक्छ । व्यस्तता बढ्नेछ ।

वृश्चिक – समय खासै अनुकुल नरहेको हुँदा नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले विशेष होसियारीको दरकार छ । आफ्नो हित तथा अधिकारको सुरक्षा गर्न जोड लगाउनुपर्ने समय छ । शोख पूरा गर्नमा केही खर्च हुनसक्छ, सचेत रहनुहोला । रसरागमा रुचि बढ्नेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु – विशेष प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । विगतका समस्या बल्झिन सक्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्छ, तसर्थ धेरै मिहेनत नलगाउनु नै उचित हुनेछ । प्रेमभाव वृद्धि तथा रसरागको काममा आकर्षण बढ्नेछ ।

मकर – शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ला । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने दिन छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुने र आफन्तजनको सहयोग प्राप्त हुने देखिन्छ ।

कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य प्राप्त गर्न निकै जोड लगाउनुपर्ने । अरुको हितमा भने राम्रै काम गर्न सकिने योग छ । सामाजिक उत्तरदायित्व वहन गर्दै महत्वपूर्ण जिम्मेवारी हात पार्न सकिएला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, सावधानी अपनाउनु उचित हुनेछ । रसरागमा आकर्षण रहनेछ र मिठो भोजन प्राप्तिको अवसर जुर्ला । इष्टमित्रको साथ मिल्नेछ ।

मीन – शुभ कर्ममा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्ति हुने र प्रेमभाव बढ्ने समय छ । रसरागमा आकर्षण रहला । तर इर्ष्यालुजनले काममा काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । अन्य दृष्टिले दिन राम्रै छ ।