सरकारमा सहभागी हुन आग्रह
नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहित नवगठित सरकारका सत्ता-साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू नेपालको निवास पुगी उनलाई फकाउने प्रयास गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गरेका हुन् ।
एमालेसँगको विभाजनपछि केपी ओली र माधव नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो ।
भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी किन नदिइएको भन्ने प्रश्न राखेका बताइएको छ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो ।
कुनैबेला माधव नेपालको नाम लिए मुख कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिन पछिनपरेका केपीले नेपालसँगको भेटपछि ‘छलफल सकारात्मक भएको’ बताएका छन् । यस्तै, एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेको र समाजवादी पार्टी सकारात्मक रहेको जानकारी दिएका छन् ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र, त्यसमा सहभागी हुन आग्रह गरेको उल्लेख गर्दै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए । उनका अनुसार बुधबार बिहान बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ ।
प्रतिक्रिया