नेपालीको विभाजन : एकातिर ‘राजनीतिवाज’ अर्कोतर्फ ‘सर्वसाधारण जनता’

नेपालीको विभाजन : एकातिर ‘राजनीतिवाज’ अर्कोतर्फ ‘सर्वसाधारण जनता’


विश्वका अधिकांश भयङ्कर नरसंहारहरू राजनैतिक नेताहरूको छुद्र स्वार्थ परिपूर्तिकै निमित्त भएका छन् । जनसाधारणको सामान्य जनजीवन मृत्युजस्तो कष्टकर नेताहरूकै सत्तामोहले भएको छ ।
✍ स्वयम्भुनाथ कार्की

हुन त सबै नीतिहरूलाई नियन्त्रण गर्ने नीति भनेर राजनीतिलाई हमेशा सर्वोच्च स्थान दिने गरिन्छ । कर्तव्य र जिम्मेवारीले बाँधेको राजनीति वास्तवमै सबै नीतिभन्दा सर्वोच्च हुन पनि सक्छ । तर जब राजनीति निरंकुश हुन्छ, अर्थात् त्यसलाई सही बाटोमा डोऱ्याउने कुनै शक्ति रहँदैन तब योभन्दा छुद्र नीति अरु कुनै हुँदैन ।

राजनीतिमा लिप्त भएकाहरू अधोषितरूपमा आफूलाई ईश्वर, परमेश्वर, परमात्मा नै ठान्न थाल्छन् । निरीह जनता चाहे असमर्थताले होस् वा अज्ञानताले, उनीहरूको यो दाबीलाई सत्य मान्न थाल्दछन् । अनि यसको परिणाम हमेशा जनताको दुर्भाग्यको रूपमा आउने गर्दछ । विश्वका अधिकांश भयङ्कर नरसंहारहरू यही राजनैतिक नेताहरूको छुद्र स्वार्थको परिपुर्ति गर्ने कामको निमित्त भएका छन् । जनसाधारणको सामान्य जनजीवन मृत्युजस्तो कष्टकर नेताहरूकै सत्तामोहले भएको छ । गाउँलेहरू, आफन्तहरू अझ एकै परिवारभित्रका सदस्यहरूबीच काटाकाट मारामार नेताहरूको तुच्छ स्वार्थको निमित्त भएको छ ।

अलग-अलग नेताहरूको स्वार्थको निमित्त एकअर्काको रगतको प्यासा बनेका जनता हमेशा जिल्लिएका छन् । एकपटक माथि फर्केर हेर्ने हो भने देख्नेछन्- ती नेताहरूबीच कुनै प्रकारको वैमनश्य नै छैन । हिजोसम्म एकअर्काका समर्थकहरू आपसमा जुधाउनेहरू सत्ता स्वादमा गठबन्धनको नाममा ठगबन्धन गरेर अँगालो मारेका भेटिन्छन् । लचिलो बनेको बहानामा जे सपना देखाएर जनताको रगतको होली खेलिएको थियो त्यो बहाना नै हराउँछ । जनता फेरि अर्कोपल्ट रगतको होली खेल्न आउन् भनेर ‘सहिद’ घोषणा गरिन्छ, क्षतिपुर्ति रकम तोकिन्छ । अनि त्यसको परिवार आफ्नो प्रियजनको प्राणको मोलवापत त्यो रकम बुझेर आँशु पुछ्दै छेउ लाग्छ । (यहाँ ‘सहिद’ र ‘शहीद’ शब्दको बीच भिन्नता राख्ने प्रयत्न गरेको छु, स्वार्थगत राजनीतिको निमित्त ज्यान गुमाउनेहरू ‘सहिद’ र देशको निमित्त प्राण उत्सर्ग गर्ने ‘शहीद’ ! यसमा अन्यथा लागे क्षमाप्रार्थी छु । – लेखक) यस्तो खेल खेल्दा ज्यान गुमाउने दुवै पक्षकाहरू जनता नै हुने गर्दछन् । नेताहरू त हमेशा सुरक्षित नै रहने गर्दछन्, सुरक्षित मात्र हैन एकअर्काको न्यानो माया पनि पाउने गर्दछन् ।

यदि जनताको असन्तोष बढ्न थाल्यो भने शीर्ष नेताहरूको दल नेताहरूको गद्दी असुरक्षित हुने सम्भावना हुन्छ । त्यसैले प्रतिरक्षा निमित्त नाटक मञ्चन हुन्छन् । नेताहरूको विरोधको नाटक अर्को नेताले शुरु गर्छ वा नयाँ नेता पैदा गरिन्छ । कुनै नेताले त्यो विरोधको नेतृत्व गर्ने र कुनै नेताले त्यो विरोधको प्रतिकार गर्ने अभिनय शुरु गर्दछन् । यसरी त्यो असन्तोषलाई पनि नेता वर्गले आफ्नो हितमा प्रयोग गरेरै छाड्छन् । यो कुरा दूरदर्शी राजा महेन्द्रले करिव ५/६ दशकपहिले नै देखेर ‘नेपाल-नेपाली एकै हौँ’ भन्ने अभियान शुरु गरेका थिए । राजा महेन्द्रले मनसा, वाचा, कर्मणा नेपाली नेपाली एक हुन् भन्ने स्थापित गराए । शोषणरहित समाजको श्रृजनातर्फको यात्रा शुरु गरे । स्वभाविक शोषणको कारण जनतालाई जातिय तथा साम्प्रादायिक रुपले बाँड्नु हो । यसले एक नेपालीले अर्को नेपालीलाई पराइ देख्छ, अनि शुरु हुन्छ बलियाले निर्धोलाई गर्ने थिचोमिचो !

साम्प्रदयिकता र विभेद कुनै पनि समाजको महारोग हो । धनी र गरिवबीचको ‘शोषक र शोषित’को सम्बन्ध पनि यही साम्प्रदायिक सद्भावको अभावले हुन्छ । यो मनन गरेर त्यसको निराकरणको उपायस्वरुप राजा महेन्द्रले २०२० साल भाद्र १ गते जारी गरेको मुलुकी ऐनमा कुनै किसिमको विभेद गर्ने कामलाई दण्डनिय बनाइयो । उनीपछि उनको पदचिन्ह पछ्याउने उत्तराधिकार नेपालले पाएन । दुःखको कुरा यसलाई राजा वीरेन्द्र अति नै सरल भएकाले अगाडि बढाउन सकेनन्, अरुलाई नै जिम्मा दिए । यहि कुरा बुझाउन राष्ट्रयोगी नरहरिनाथको ‘छाता आफै ओढ्नुपर्छ’ भन्ने भनाइलाई राजद्रोह जस्तो मानियो ।

संसारका तत्कालिन दिग्गजहरूलाई समेत आफ्नो महत्व जताउन सफल राजा महेन्द्रले मुलकलाई सक्षम उत्तारधिकारी दिन सकेका भए नेपाल अहिले साँच्चै नै बुद्धको मुलुक भएको जिम्मेवारी पूरा गरेर विश्वशान्तिको केन्द्र बनेको हुनसक्ने थियो । त्यसैले आ-आफ्नो ‘भोट ब्यांक’ बनाउन नेपाली-नेपालीबीच भेदभाव वर्तमान संविधान सम्मत बनेको छ । वर्तमानमा त जनतालाई आफ्नो महत्वाकाङ्क्षाको यज्ञमा होम गर्ने राजनीतिवाज एकातर्फ र अर्कोतर्फ निरिह जनताको रूपमा नेपाली विभाजित छन् ।