लन्डन । हिन्दू नारीहरुले परम्परागत रुपमा मनाउँदै आइरहेको श्री स्वस्थानी ब्रत कथा आज ४ जनवरी २०१५ तदनुसार पौष महिनाको २० गते आइतबारबाट आरम्भ भएकोछ । पौष शुल्क पूर्णिमाबाट आरम्भ भएर माघ शुक्ल पूर्णिमासम्मको एक महिनाभरि यो स्वस्थानीको ब्रत जारी रहनेछ । स्वस्थानी ब्रतकथालाई हिन्दू नारीहरुले बिशेष गरि आफ्नो पतिको सु(स्वास्थ्य र दीर्घायूको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अबिबाहित नारीले अशल पति पाउनको लागि प्रार्थना गर्ने गर्दछन् । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग स्थापना गरी एक महिनाभरि निराहार गरी तपस्या गर्दा उनले चितायको मनोकांक्ष्या पूर्ण भएको थियो भन्ने कथा प्रचलनमा रहेको पाइन्छ ।
यसरी पार्वतीले पाएको सफलतालाई अनुसरण गर्दै हिन्दू महिलाहरुले पनि एक महिनासम्म हरेक दिन नित्य मध्यान्न कालमा भगवान शिवको आराधना र स्वस्थानी देवीको स्तुती गर्ने गर्दछन् । यस अवधिभर हरेक दिन स्नान गरी सफा र शुद्ध भई स्वच्छ भावनाले स्वस्थानीको कथा सुन्ने र सुनाउने गरिन्छ । ब्रत अवधिभर माछा मासु ईत्यादि सबै कुरा त्याग्नुपर्ने प्रचलन रहेको पाइन्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाको एक महिनासम्म काठमाडौँ को शालिनदिमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा दिनको एक छाक मात्र खाएर महादेवलगायत स्वस्थानी परमेश्वरीको पूजाआजा गर्ने प्रचलन रहेको छ । यसका साथै घर घरमा स्वस्थानी ब्रताकथाको पुस्तक पढेर कथा सुन्ने र सुनाउने गरिन्छ । ब्रत नालिनेहरुले पनि स्वस्थानी ब्रतकथाको पुस्तकलाई एकचित्त भएर महिनाभरि कथा सुन्ने गर्दछन् ।
हिजोआज स्वदेशमा मात्र नभएर बिदेशमा पनि स्वस्थानी ब्रताकथाको महात्म्यलाइ निरन्तरता दिंंदै आएको पाइन्छ । लन्डनस्थित बस्नेत निवासमा पनि बिगत पांच बर्षदेखि स्वस्थानी ब्रताकथाको कथा सुन्ने र आफन्तलगायत छर छिमेकीलाई पनि सुनाउँदै आइरहेको छ । यसरी माघ शुक्ल पुर्निमाको दिन पारेर स्वस्थानीको सांज्ञ गरी प्रसाद वितरण समेत गर्ने गर्दै आफ्नो परम्परालाई निरन्तरता दिंदै आएकोछ । साथै लन्डनबाट संचालन हुँदै आइरहेको रेडियो राइनोले पनि स्थानीय समयअनुसार बेलुका नौ बजेबाट स्वस्थानी ब्रतकथा सुनाउँदै जाने घोषणा गरेकोछ ।
निष्कर्षमा हेर्दा स्वस्थानी ब्रताकथाको महिमालाई हेर्ने हो भने पुरुष प्रधानताको नाताले माहिलालाई केही मात्रामा बोझ बोकाएको हो कि जस्तो देखिएता पनि घर परिवारलाइ सफाल बनाउन महिला र पुरुषको उत्तिकै भूमिका रहेको र पुरुष प्रधान त्यस बेलाको समयमा अशल पुरुष स्वामी पाएको खण्डमा महिलाले बढी मात्रामा थिचोमोचो सहनु नपर्ला भनेर नै आफूले सोचेजस्तो स्वामीको लागि यो ब्रत बसेको पनि तर्क गर्दा सान्दर्भीक हुन जान्छ । जे होस् यसलाई एउटा कथाको रुपमा नै प्रस्तुत गरिएको हुँदा ब्यबहारिक रुपमा लागू नगरेता पनि धर्म संस्कृति र परम्पराको जगेर्नाको निरन्तर प्रयास भने पक्कै हुनेछ ।
प्रतिक्रिया