प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट


प्रधानमन्त्री प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु-१९ वुमन व्रल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताउनुभएको थियो । भेटमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता थियो ।