काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष २०८१ को वैशाख १ भित्रै खुला हुन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भनेका छन्, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’
हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको पनि काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया