आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु


कालीकोटको खाडाँचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलार्गांको बुधबार दिउँसो मृत्यु भएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । आगलागीमा चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुऱ्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएकी थिइन् । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।

छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा. केएन पौडेलले जानकारी दिएका छन् ।