उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले शान्तिसुरक्षा, सेवाप्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न तथा शान्तिसुरक्षा÷अपराध नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न, तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न, जिल्लाभित्र बढी अपराध हुने क्षेत्रको पहिचान गर्दै त्यस्ता क्षेत्रमा सुरक्षा निगरानी तथा आकस्मिक चेकजाँच, गस्ती, पट्रोलिङ बढाउन पनि उनले निर्देशन दिइएको एक प्रजिअले जानकारी दिए ।
सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण गर्न, सामाजिक सञ्जालमार्फत् अनर्गल, आधारहीन, भ्रामक सन्देश प्रचारप्रसार गर्ने, जातीय सांस्कृति सद्भाव भड्काउने, राष्ट्रिय एकता, व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्नेलगायत कार्य नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक–एक जना अधिकृत स्तरको कर्मचारी खटाएर डेस्क सञ्चालन गर्न उनले निर्देशनमा भनेका छन् ।
यस्तै, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयको प्रभावकारी व्यवस्थापन र सूचना प्रविधिको प्रयोग, गुनासो व्यवस्थापन र सूचनाको हक कार्यान्वयन गर्न निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया