ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै


ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्र्याक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बुधबार बताएको छ ।

यो कदम ओलम्पिकमा विगतको एमेच्योर खेलको सबैभन्दा बढी हेरिने घटनामध्येको एउटा प्रतीकात्मक बिराम हो । एथलेटिक्स सञ्चालन गर्ने उक्त संस्थाले यस वर्षको पेरिस ओलम्पिकका लागि ट्र्याक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको बताएको छ ।

रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन् । रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ ।

अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भनेका छन्, ‘यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकि हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।’ अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी)ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ ।

यद्यपि यो कदमले पेरिस खेलहरूअघि ओलम्पिक आन्दोलनमा शक्ति सन्तुलनलाई खल्बल्याउन सक्छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले आफ्नो घोषणा प्रकाशन गर्नुभन्दा केहीअघि बुधबार बिहानमात्र आइओसीलाई आफ्नो मनसायका बारेमा ‘चेतावनी सन्देश’ दिएको कोएले बताए।

जवाफमा आइओसीले ओलम्पिक राजस्वको आफ्नो हिस्सा कसरी खर्च गर्ने भनेर निर्णय गर्न प्रत्येक खेलका सञ्चालक निकायमा निर्भर हुने बताएको छ । ‘आइओसीले आफ्नो सबै आम्दानीको ९० प्रतिशत विशेषरूपमा राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) र अन्तर्राष्ट्रिय महासङ्घहरू (आइएफ)लाई पुनरवितरण गर्दछ’, आइओसीले भनेको छ, ‘यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल सङ्गठनहरूको सहयोगका लागि जान्छ, आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको वैश्विक विकास कसरी गर्ने भन्ने कुरा प्रत्येक आइएफ र एनओसीमा निर्भर छ ।’

आधुनिक ओलम्पिक प्रतियोगिताको सुरुआत एमेच्योर खेल आयोजनाका रूपमा भएको थियो र आइओसीले पुरस्कार राशि प्रदान गर्दैन । यद्यपि धेरै पदक विजेताहरूले आफ्नो मुलुकको सरकार, राष्ट्रिय खेल निकायहरू वा प्रायोजकहरूबाट भुक्तानी प्राप्त गर्दछन् ।

photo: AP