गीतकार थापा र गायिका देशार सम्मानित

गीतकार थापा र गायिका देशार सम्मानित


भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु. एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित भएका हुन् ।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री, मञ्जु थापा, गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गरे ।

यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित भइन् ।

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको उल्लेख गर्दै भने, ‘म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।’

उद्यमी-व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । यसबाट गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित भइसकेका छन् ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठका अनुसार थापा र देशारको योगदानको कदर गर्दै सम्मान गरिएको हो भने प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

तस्बिर : रासस