नयाँ नेताको पुरानै धन्दा : हुण्डी कारोबारीहरू उत्साहित, प्रहरीमा इमान्दारी पराजित !

नयाँ नेताको पुरानै धन्दा : हुण्डी कारोबारीहरू उत्साहित, प्रहरीमा इमान्दारी पराजित !


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

पुराना दल र नेताबाट देशको पक्षमा काम नहुने झ्याली पिट्दै प्रचण्ड र केपी शर्मा ओलीको पाउ परेर सत्ताको अंशियार बन्न सफल रास्वपाको नेतृत्व वास्तवमा पुराना नेता र दलभन्दा पनि ज्यादा भ्रष्ट भएको पुनः पुष्टि भएको छ । इमान्दारिपूर्वक आफ्नो कर्तव्य पूरा गरिरहेका केही जिल्लाका प्रहरी प्रमुखहरूलाई गैरन्यायिक सरुवा गरेपछि उक्त रहस्य खुलेको हो ।

दोहोरो नागरिकता र दोहोरो पासपोर्ट प्रयोग गरेको अपराधमा ‘उन्मुक्ति’ मिलेपनि सहकारी ठगी प्रकरणबाट जोगिन संघर्षरत रास्वपा सभापतिले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेयता दुई नम्बर धन्दामा संलग्न मानिसहरू उत्साहित भएका छन् । यस क्रममा हुण्डी कारोबारमा सामेल भएका व्यक्तिहरू पक्राउ परेपछि सम्वन्धित जिल्लाका प्रहरी प्रमुखहरू रातारात सरुवा गरिएका छन् । र, त्यसरी प्रहरी प्रमुखहरूको सरुवा गराउन सफल भएपछि हुण्डीका कारोबारीहरूमा उत्साह थपिएको छ ।

हुण्डी कारोबारीहरूले तराईको पाँच जिल्लाका एसपीहरूलाई असमयमै सरुवा गराउने सफलता पाएपछि गृहमन्त्रीसँग दुई नम्बर धन्दामा संलग्नहरूको सम्वन्ध उजागर भएको छ ।

सर्लाहीमा दयानिधि ज्ञावाली ४५ दिन, धनुषामा मित्रबन्धु शर्मा ३ महिना, महोत्तरीमा श्यामकुमार राई ४५ दिन, रौतहटमा महेन्द्रकुमार श्रेष्ठ ७ दिन, बारामा सुरेश काफ्ले ७ महिना र बाँकेमा सुवास बोहोराले ६ महिनामात्र काम गर्न पाएका थिए । यी सबैले अवैध रुपमा सञ्चलन भइरहेका हुण्डीको कारोबार र तस्करी नियन्त्रण गर्दै नक्कली नोट बरामद गरेका थिए ।

बारामा भारतबाट न्यून गुणस्तरको दाल ल्याएर गोदाममा नक्कली केमिकलको पोलिस लगाएर आपूर्ति गराउने सञ्जय अग्रवालकोमा प्रहरीले छापा मारेको थियो । त्यो प्रकरण अहिले बाराको राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

यस्तै, गढीमाइमा आरके मनी ट्रान्सफर कम्पनी खोलेर हुण्डी कारोबार गर्ने रमेशप्रसाद कुशवाह पक्राउ परेका थिए । हुण्डीकै कारोबारमा संलग्न हरिकिशोरप्रसाद कुर्मी करिव साढे १३ लाख रुपैयाँसहित पक्राउ परे । उनै हरिकिशोरको बयानपछि रमेशप्रसाद कुशवाह पक्राउ परेका थिए ।

मलेसियामा पनि आरके मनी ट्रान्सफर खोलेर रमेशकुमारले हुण्डीको कारोबार गर्ने गरेको खुल्न आएको छ । मलेसियामा रहेका करिव १० लाख नेपाली कामदारबाट रिङ्गिट खरिद गर्ने काम रमेशप्रसादले गर्ने, त्यसरी संङ्ग्रहित रिङ्गिटबाट आरएमबी तथा डलर किन्ने र नेपाली एवम् भारतीयलाई उपलब्ध गराउँदै आएका थिए । नेपालमा डलर बनेर आउने रिङ्गिट आरकेले मलेसियामा नै कब्जा गर्ने खुलेको छ ।

भारतमा व्यापारका क्रममा पुगेका नेपाली मुद्रा अवैध बाटोबाट नेपालमा झिकाउने र नेपाली कामदारको घर-घरमा या बैंक खातामा पैसा पठाइदिने काम निज कुशवाहहरूले गर्दै आएका छन् ।

राकेशकुमार कुशवाह मलाय केटी विवाह गरेर मलेसियामै बसेका छन् र उनी एनआरएनका मलेसियाका अध्यक्ष पनि हुन् । सिंगापुर र मलेसियाको बीचमा राकेशको घर रहेको छ । राकेशका भाइ रमेशकुमार बारामा मनी ट्रान्सफर चलाउने व्यक्ति हुन् ।

धनुषामा विष्णु केसीले विष्णु मनी ट्रान्सफर चलाएका छन् । बिक्की जैन वीरगञ्जमा हुण्डीका कारोबारी हुन् । वीरगञ्जमा राजु दारुका, नवनीत अग्रवाल, अरुण अग्रवाल हुण्डीका मुख्य कारोबारी मानिन्छन् । बारामा साजिद अन्सारीले हुण्डीको कारोबार गर्दै आएका छन् । नेपाल भारत सीमामा भारतीयहरू रामशंकर कलवार, जटाशंकर कुशवाह, सुवोध जसैवाल, रोहित कलवार, अरुण केशरी, सोनु कलवार र दिलिप बैरगनिया रौतहटको सीमामा हुण्डीको कारोबार गर्ने गर्छन् ।

यही अप्रिल १ मा हरिकिशोर कुर्मी र रमेशप्रसाद कुशवाह पक्राउ परेपछि प्रहरी अधिकारीलाई प्रलोभन आउन थालेको थियो । मार्च ३० र अप्रिल १ मा ८ करोड रुपैयाँ हुण्डिमार्फत कारोबार भएको देखिएको थियो । कुशवाहहरू पक्राउ परेपछि उनीहरूले तीन दिनसम्म हुण्डीको कारोबार बन्द गरेका थिए । अनि, वीरगञ्जका मारवाडीहरूमा भागाभाग सुरु भएको भेटिएको थियो । मोवाइलको डाटाबाट १८ दिनमा ६८ करोड रुपैयाँको कारोबार भएको भेटियो । यहाँ वर्षमा ५ देखि ७ अर्ब रुपैयाँ हुण्डीमै कारोबार हुने गरेको बुझिन्छ ।

यी हुण्डी कारोबारी र तस्करको पूरै ऱ्याकेट नै पक्राउ गर्ने तयारीमा प्रहरी रहेका थिए । अहिले बारामा आइजीपीको सचिवालयमा रहेका महेन्द्र खड्का, सर्लाहीमा सचिवालयकै रविन्द्र सिंह, महोत्तरीमा सचिवालयकै नहकूल पोखरेल, धानुषामा भुवनेश्वरी तिवारी, बाँकेमा तुलबहादुर कार्कीलाई खटाइएको छ ।

सर्लाही प्रहरीले हुण्डी नियन्त्रणको क्षेत्रमा धेरै राम्रो काम गरेको र सबैभन्दा बढी हुण्डीवालालाई नियन्त्रण गरेको पाइएको थियो । समाचार स्रोतहरूका अनुसार हुण्डीको कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता संलग्न देखिएका तथ्य प्रहरीले फेला पारेको छ । दुवई, कतार, साउदी, कोरिया, जापानसमेतका देशबाट पनि यसरी नै हुण्डीको कारोबार भइरहेको छ ।

६ जिल्लाका एसपीहरूको सरुवा प्रकरणको रहस्य बुझ्ने क्रममा यस प्रकारका तथ्यहरू फेला परेका हुन् ।