संसद्को संयुक्त बैठक जेठ १ मा, राष्ट्रपतिले सम्बोधन गर्ने

संसद्को संयुक्त बैठक जेठ १ मा, राष्ट्रपतिले सम्बोधन गर्ने


राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार (जेठ १) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

‘सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।