‘छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनुपर्छ’ : गृहमन्त्री लामिछाने

‘छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनुपर्छ’ : गृहमन्त्री लामिछाने


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको भन्दै दुःखेसो प्रकट गरेका छन् । साथै, उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसदमा सबैले बोल्न पाउनुपर्ने तर्क गर्दै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए । ‘छानबिन समिति बनाए पनि हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छ । नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन’, उनले भने ।

सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनको भनाइ थियो । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेको उजिकिर गर्दै उनले भने, ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।’ उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको र, त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता उनले जनाए ।

प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गरे, र त्यसक्रममा उनले कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने बताए ।

photo: rss